कर्णाली प्रदेशमा भएका सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति भएको पाइएको छ । प्रदेशमा हुने ६२ प्रतिशत सवारी दुर्घटना तीव्र गतिका कारण हुने गरेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा व्यवस्थापन कार्यालय सुर्खेतले जनाएको छ । आर्थिक वर्ष २०८२/०८३ मा ६ सय ७१ सवारी दुर्घटनाको कारण तीव्र गति छ । यो वर्ष ११ सय ९७ दुर्घटना भएका थिए ।
यस्तै आर्थिक वर्ष २०८१/०८२ मा १ हजार ८६ सवारी दुर्घटनामा परेकोमा ६ सय ४४ घटना तीव्र गतिका कारण भएका नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मुकुन्दप्रसाद रिजालले जानकारी दिए । यस्तै आव ०८२/०८३ मा ११ सय ९७ दुर्घटना भएकोमा ७ सय ७१ सवारी दुर्घटना तीव्र गतिका कारण भएका हुन् । आव २०८०/८१ मा ७ सय ५१ घटना तीव्र गतिका कारण भएका रिजालले बताए ।
उनका अनुसार चालकको लापरबाही, ट्राफिक नियम पालनामा उदासीनता, राजमार्ग तथा मुख्य सडकखण्डमा अनियन्त्रित छाडा चौपायाका कारण दुर्घटनाहरू बढेका छन् । योसँगै सवारीसाधनको अवस्था र सवारीसाधनमा ओभरलोड लिने भएकाले पनि सवारी दुर्घटनाहरू बढेको एसपी रिजाल बताउँछन् ।
यस्तै कर्णालीमा सबैभन्दा बढी सवारी दुर्घटनामा पर्ने सवारी चालकहरू २६ देखि ४० वर्षसम्मका छन् । ४४ प्रतिशत दुर्घटना यो उमेर समूहबाट हुने गरेको छ । त्यसपछि बढी दुर्घटना हुने समूह भनेको १६ देखि २५ वर्ष उमेर समूहको छ । यो समूहबाट २३ प्रतिशत दुर्घटना हुने गरेका छन् भने ४१ देखि ६५ वर्षसम्मको उमेर समूहबाट १९ प्रतिशत सडक दुर्घटना हुने गरेको तथ्याङ्क प्रदेश ट्राफिक प्रहरीको छ । १२ प्रतिशत दुर्घटना १५ वर्षमुनिका बालबालिकाहरूले गराउने गरेका छन् ।
कर्णालीमा सबैभन्दा बढी दुर्घटनामा परेका सवारीसाधनमा मोटरसाइकल छन् । आव ०८२/०८३ मा ४७ प्रतिशत मोटरसाइकलहरू दुर्घटनामा परेका छन् ।
प्रदेशमा पछिल्लो समय सवारी दुर्घटना बढेपनि दुर्घटनामा परी ज्यान गुमाउनेको संख्यामा भने कमी आएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/०८२ को तुलनामा आव ०८२/०८३ मा सवारी दुर्घटनामा ज्यान गुमाउनेहरूको संख्यामा ३ प्रतिशतले कमी आएको छ ।
०८१/०८२ मा १ सय ३९ जनाको मृत्यु भएकोमा आव ०८२/०८३ मा १ सय २५ जनाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख एसपी रिजालले जानकारी दिए । यस्तै दुर्घटनामा पहिलो आर्थिक वर्षमा १ हजार ८६ घाइते भएकोमा पछिल्लो आवमा १ हजार ९७ घाइते भएका छन् । प्रदेशमा सवारी दुर्घटनामा भने २३ प्रतिशतले वृद्धि भएको छ ।
सवारीसाधनको बढ्दो चाप, सवारीसाधनको यान्त्रिक अवस्था, साँघुरा र जीर्ण सडक, कच्ची सडक, सडक तथा राजमार्गहरूमा सुरक्षाका लागि चाहिने आवश्यक पूर्वाधारको अभाव, ट्राफिक नियमको पालनामा केवल ट्राफिक प्रहरीका लागि मात्र हो भन्ने मानवीय प्रवृत्ति लगायतका कारणले सवारी दुर्घटनामा वृद्धि भएको रिजाल बताउँछन् ।
अघिल्लो आर्थिक वर्षभन्दा पछिल्लो आवमा सवारी दर्तामा १६ प्रतिशतले वृद्धि भएको छ ।
प्रदेशमा ४० हजार ९ सय ५६ सवारीसाधनहरू दर्ता छन् । ९ हजार ६ सय ८७ किलोमिटर सडक छ । ट्राफिक प्रहरी भने जम्मा २ सय १५ जना छन् ।
यता दुर्घटना न्यूनीकरणको लागि सुरक्षित कर्णाली अभियानका माध्यमबाट विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको एसपी रिजालले बताए । उनका अनुसार लक्षित वर्गलाई जनचेतनामूलक कार्यक्रममार्फत सचेत गराइएको छ । यस्तै दुर्घटनाको जोखिम भएको स्थानमा जनचेतनामूलक बोर्डहरू राखिएको छ । यस्तै सरोकारवाला निकायसँग अन्तर्क्रिया, सवारीसाधनको यान्त्रिक चेकजाँच तथा चालकहरूको स्वास्थ्य परीक्षण गरिएको छ । मादक र लागु पदार्थ सेवन गरी सवारीसाधन चलाउने चालकहरूलाई कारबाहीको दायरामा ल्याइएको उनले बताए । यसका साथै अटो चालकहरूलाई सेफ्टी ज्याकेट पनि वितरण गरिएको छ ।
गएको आर्थिक वर्षमा ८ हजार २ सय ७८ विभिन्न प्रकारका जनचेतनामूलक कार्यक्रम गरिएको छ ।










