Karnali Media
२०८३ असार १ , सोमबार

तिहारको देउसी भैलो: मौलिकता हरायो, उश्रृङ्खलता मौलायो



सुर्खेत, असोज ८ । नेपालीहरुको दोस्रो ठुलो चाड तिहार भित्रिसकेको छ । देउसी भैलो, फुल बत्ती र सेल रोटीको पहिचान संग जोडिएको चाड पनि हो तिहार । नेपाली मौलिक परम्परा संग जोडिएको तिहारमा अहिले त्यो मौलिकता भने हराउदै गएको छ । गाउँ तथा शहर जताततै देउसीभैलोको रौनक देखिन थालेको छ , तर यहि क्रममा देउसीभैलोको मौलिकता हराउदै गएको भन्दै कतिपयले चिन्ता समेत व्यक्त गरेका छन् ।

परम्परागत देउसीभैलोमा पछिल्लो समय आधुनिकताले आक्रमण गरेको पाइएको छ । पछिल्ला दिनहरुमा बदलिदो सांगितीक माहुोल संगै विशेष गरि युवायुवतीमा आधुनिकताको भुत चढ्दा देउसी भैलोको मोलीकता मेटिने वीरेन्द्रनगरका सुकदेव पौडेलले चिन्ता व्यक्त गरेका छन् ।

मादल, बासुरि, खैजडि लगाएतका बाध्यवाधनका माध्ययमबाट दाजुवहिनीको कथाव्यथाहरु प्रस्तुत हुने देउसीभैलो हिजो आज चर्काे आवाजका आधुनिक साउण्ड सिस्टममा सिमित हुँदा चिन्ता बढ्दै गएको वीरेन्द्रनगर ८ का गगांराम भट्टराई बताउछन् ।

बाल्यकालका स्मरण ताजा बनाउदै मारुनी, सोरठी, टप्पा नाचेका र गाएका दृश्य झलझली याद गर्दै परम्परातर्फ आकर्षण घटेको खगिसरा अधिकारीको भनाई छ ।

उनीहरू मात्र होइन, पुरानो पुस्तालाई अहिलेको देउसी–भैलो पटक्कै मन परेको छैन । पुरानो पुस्ता बलि राजाको गाथासहितको परम्परागत भैलो मन पराउँछन् । परिवारलाई आशिष दिँदै कम्मर मर्काइमर्काइ मादल, खैजेरीको तालमा नाचेको दृश्य नै रमाइलो लाग्ने गरेको बुढापाकाहरु बताउँछन् ।


आज भोली तिहार देउसी भैलोलाई प्रतिस्पर्धात्मक रुपले हेर्ने गरिएको बताउदै पहिला आर्शिबाद लिन जाने गरिन्थ्यो भने आजभोली धेरै भन्दा धेरै कातिके दान असुलेर रमाइलोमा खर्च गर्ने गरेको बरिष्ठ कलाकार प्रेमदेव गिरी बताउछन् ।

मानव जिवनकालागि मनोरञ्जन पनि नितान्त आवश्यक कुरा हो । तर मनोरञ्जनका नाममा आफनो मौलिक परम्पराका संस्कार, संस्कृती र रिती रिवाजहरुलाई बिर्सदै जानु दुःखको कुराहो । विशेष गरेर मौलिक परम्परासंग जोडिएका चाड पर्वहरुलाई जिवन्त राख्दै भावि पुस्तासम्म पूरयाउनु सबैको दायित्व हो ।

 

 

प्रकाशित मिति : २०७९ कात्तिक ८ गते मंगलबार