Karnali Media
२०८३ असार १ , सोमबार

छोरीबुहारी छात्रवृत्ति कार्यक्रम प्रभावकारी बन्दै



सुर्खेत । कर्णाली प्रदेश सरकारले छोरीबुहारीलाई छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम प्रभावकारी देखिएको छ । आव २०७४÷७५ देखि कर्णालीमा प्राविधिक शिक्षामा महिलाको पहुँच बढाउन ‘छोरीबुहारी छात्रवृत्ति’ कार्यक्रम सञ्चालन गरेको हो ।

कर्णाली प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय अन्तरगत १ जनालाई न्यूनतम ६६ हजारदेखि १ लाख ३० हजारसम्म छात्रवृत्ति दिन्छ । प्रदेश सरकारले छोरीबुहारीका निम्ति गरेको लगानी प्रभावकारी देखिनुका साथै कर्णालीका छोरीबुहारीको प्राविधिक शिक्षामा पहुँच बढेको छ ।

मन्त्रालय अन्तर्गतको शिक्षा विकास निर्देशनालयका अनुसार तीन वर्षे स्नातक तहमा र प्रमाणपत्र तहमा व्यावसायिक तथा प्राविधिक शिक्षा अध्ययन गर्न इच्छुक छात्रालाई ‘छोरीबुहारी छात्रवृत्ति’ प्रदान गरिन्छ ।

छात्रवृत्ति प्राप्त गरेका छोरीबुहारीहरु अहिले कोही पढाई सकेर जागिर खादै छन् भने कोही विभिन्न कलेजमा पढ्दै गरेका छन् ।

आर्थिक रुपमा कमजोर भएकाले प्राविधिक शिक्षा पढ्न नसक्ने अवस्थामा यो कार्यक्रमले आफ्नो पढ्ने सपना पुरा गरेको तिन वर्षे बाली विज्ञान पढेर सक्नुभएकी भावना बुढाले बताउछिन् ।


छोरीहरुलाई पढाउनु हुन्न भन्ने समाजमा सरकारले यस्ता खालका कार्यक्रम ल्याउदा छोरीबुहारीले पनि पढ्न पाउने अवसर प्राप्त हुने हुँदा यस्ता कार्यक्रम निरन्तर हुनपर्ने सुर्खेतको सेडा कलेजमा स्टाफ नर्स पढ्दै गरेकी सगिंता सिंहको भनाई छ ।

शिक्षा विकास निर्देशनालय र विभिन्न जिल्लाका सामाजिक विकास कार्यालय अन्तरगत रहेर चालु आर्थिक वर्ष सम्म ५ सय २१ जना छोरीबुहारीलाई छात्रवृति प्रदान गरिएको छ ।

छोरीबुहारीहरुको अध्ययन प्रति आकर्षण बढेको, कमजोर आर्थिक स्थितिका छोरीबुहारीहरुले अध्ययन गर्न पाएको र यस्ता कार्यक्रम अझै हुन पर्छ भनि माग हुदै आएको शिक्षा विकास निर्देशनालयकी निमित्त निर्देशक दिपा हमालको भनाई छ ।

अध्ययन सकेपछि छोरीबुहारी प्रदेश सरकारले खटाएको ठाउँमा गएर काम गर्नुपर्ने हुन्छ । यसका लागि प्रदेश सरकाले छात्रवृत्ति प्राप्त गरेकासँग लिखित सम्झौता गरेको छ ।

कार्यक्रममा सहभागी हुनका लागि सरकारी विद्यालयबाट एसएलसी उत्तीर्ण हुनुपर्ने छ । कर्णालीको स्थानीय वासिन्दा हो भन्ने स्थानीय तहले सिफारिस गर्नुका साथै प्राविधिक विषय अध्ययनका लागि भर्ना भई नियमित अध्ययनका साथै अन्य कुनै सरकारी छात्रवृत्ति नभएकालाई मात्रै यो कार्यक्रममा समावेश गरिने छ । अनाथ, असाहयका हकमा भने निजी शैक्षिक संस्थाबाट एसईई उत्तीर्ण गरेकाले पनि छात्रवृत्ति पाउनेछन् ।

प्रकाशित मिति : २०७९ कात्तिक १५ गते मंगलबार