सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका बहुविपद्को उच्च जोखिममा छ । बाढी, पहिरो, डुबान, भूकम्प, आगलागी र खडेरी, डढेलो लगायतका प्राकृतिक विपद्को प्रत्यक्ष मारमा रहेको वीरेन्द्रनगरमा यस्ता जोखिमलाई न्यूनीकरण गर्दै उचित व्यवस्थापन गर्नेतर्फ नगरपालिकाले आफूलाई तयारी अवस्थामा राखेको छ ।
विपद् व्यवस्थापनका लागि आवश्यक नीति निर्माण, दक्ष जनशक्तिको व्यवस्थापन, उपकरण र प्रविधिको जोहो नगरपालिकाले गरेको छ । नगर क्षेत्रमा कुनै विपद्का घटना भइहालेमा त्यसबाट प्रभावित बनेकाको उद्धार, राहत र पुनस्र्थापनाका लागि पनि वीरेन्द्रनगरले आफूलाई तम्तयार राखेको नगरपालिकाले जनाएको छ ।
सुर्खेत उपत्यकामा प्रदेश राजधानी बनेपछि वीरेन्द्रनगरमा जनसंख्याको चाप बढ्दो छ । नगरभित्र रहेका खोला किनारमा समेत वस्ती विस्तार भएका छन् । बर्सेनि आउने बाढीले त्यस्ता अव्यवस्थित बसोबास गर्नेलाई प्रभावित बनाउने गरेको छ । तैपनि खोला किनारका जग्गा ओगटेर बस्नेको कमी छैन ।
बाढीको जोखिम न्यूनीकरण गर्न पालिकाले नगरभित्रका आँपखोली, खोर्केखोला, इत्रामखोला र नेवारेखोला लगायतका खोलाहरुको बहाव क्षेत्र व्यवस्थित गरिरहेको छ । नगरपालिकाले ती नदीहरूमा तटबन्ध लगाइरहेको हो ।
अति जोखिममा रहेका वडा नम्बर १ को आँपखोली, वडा नम्बर १२ को इत्रामखोला र खोर्केखोला किनारमा रहेका बस्तीलाई जोगाउन अहिले तटबन्ध गरिएको छ ।
‘आँपखोलीमा तटबन्ध बनेपछि नदी उर्लिएर बस्ती पस्ने भय साँघुरिएको छ । ढुक्कले निदाउन थालेका छौं । खहरे खोलामा आउने बाढीले बर्सेनि दुःख दिन्थ्यो । घरबार नै बगाउने समस्या थियो । खोला किनारमा तटबन्धन बनेपछि अब वर्षातमा हामीलाई कुनै त्रास हुँदैन भन्नेमा ढुक्क छौं,’ वीरेन्द्रनगर—१ की लक्ष्मी खत्रीले बताइन् ।
२०७१ सालको बाढिले वीरेन्द्रनगर १ को १५ घर पुर्ण रुपमा बगायो । मानवीय क्षती नभएपनि ति १५ घरका मानिस बाहेक केहि नबचेको वडा १ का अध्यक्ष दिनेश खत्रीले जानकारी दिए । उनले बाढिबाट विस्तापित उनीहरु कोहि आफन्त त कोहि सामुदायिक बनको छेउछाउमा बस्न गएको बताए । ‘यति मुल्य बराबरको क्षति भयो भनेर एकिन तंथ्याकं छैन, उहाँहरु पहिलै सुकुम्बासी हो त्यसैले खोलाको छेउमै बसेको बस्ती हो’, अध्यक्ष खत्री भन्छन्,‘बाढिले पुराएको क्षती देखेर पालिकाले सिफारिस गरे अनुसार तयार नेपालले तटबन्धन गरेको छ।’ वडा १ को खोलाको दुई किनारमा साढेतिन सय मिटर बराबरको तटबन्धन तयार नेपालले गरेको अध्यक्ष खत्रीले जानकारी दिए । उनका अनुसार तटबन्धनबाट ३ देखी ४ सय घरधुरी प्रत्यक्ष रुपमा लाभान्वीत भएका छन् ।
डुबानबाट जोगाउन मौसम सूचना प्रणाली
वीरेन्द्रनगरको तल्लो भेग हरेक बर्खामा डुबानमा पर्छ । यसले हरेक वर्ष जनधनको नोक्सानी हुन्छ । डुबानको यही समस्या न्यूनीकरणका लागि नगरपालिकाले मौसम सूचना प्रणाली स्थापना गरेको छ ।
यसले तल्लो क्षेत्रमा पानीको सतह बढ्ने बित्तिकै स्थानीयलाई पूर्वजानकारी दिन्छ । कथम् डुबान भइहालेको खण्डमा उद्धारका लागि दुईवटा रबर बोट (डुंगा) र लाइफ ज्याकेट पनि तयारी अवस्थामा राखेको नगरपालिका विपद व्यवस्थापन शाखाका प्रमुख यामलाल गिरीले बताए ।
उनका अनुसार विपद् व्यवस्थापन र पूर्वतयारीका लागि नगरपालिकालाई अमेरिकी सहयोग नियोग यूएसएआइडीको तयार नेपाल परियोजनाले आर्थिक र प्राविधिक सहयोग गरे पछि वीरेन्द्रनगरवासीलाई ठूलो राहत मिलेको छ ।
वीरेन्द्रनगर वडा नम्बर ९ को तल्लो पर्सेनीस्थित मिलनचोकमा मौसम सूचना प्रणाली जडान गरिएको छ । वर्षातको समयमा वीरेन्द्रनगर, सुर्खेत उपत्यकाको सबै पानी तल्लो तटीय क्षेत्रबाट निकास हुन्छ । त्यसैले पनि नगरको निकाश क्षेत्र अलायचौ बासीले बर्सेनि डुबानको प्रताडना झेल्छ ।
यही समस्यालाई न्यूनीकरण गर्न नगरपालिकाले मौसम सूचना प्रणाली जडान गरेसँगै यसले डुबानको पूर्वसूचना दिन थालेको हो । पानीको सतह बढेर खतराको संकेत पार गर्न थालेमा यो प्रणाली मार्फत साइरन बज्छ । साथै डुबानको जोखिम बढेको भन्दै स्थानीयलाई सुरक्षित रहन आग्रह गरिएको सन्देश यो प्रणालीले प्रवाह गर्छ । जसले गर्दा तल्लो तटीय क्षेत्रका नागरिक डुबान हुने अवस्था आएमा सुरक्षित स्थानमा जाने गर्दछन् । यसले डुबानको सम्भावित जोखिम र नोक्सानलाई न्यूनीकरण गर्न सहयोग पुगेको नगरपालिका विपद व्यवस्थापन शाखाका प्रमुख यामलाल गिरीले बताए ।
आगलागी नियन्त्रणका लागि दमकल र दक्ष जनशक्ति
वीरेन्द्रनगरमा आगलागी पनि मुख्य चुनौतीको रूपमा रहेको छ । आगलागीकै कारण ठूलो जनधनको नोक्सान हुने गर्छ ।
२०८०/०८१ चैत र वैशाख महिनामा मात्र कर्णाली प्रदेशमा १ सय ३४ वटा डढेलो लागे । यसमा परेर कर्णालीमा १० जनाको मृत्यु भयो । सुर्खेतमा एक, कालिकोटमा दुई, रुकुम पश्चिममा एक र डोल्पामा ६ गरी १० जनाको मृत्यु भयो । २ जना घाइते भए । १ सय ३ चौपाया मरे । ३३ हजार ४ सय ३ हेक्टर जङ्गलमा डढेलो लाग्यो ।
डिभिजन वन कार्यालय डोल्पाका वन अधिकृत डायमन्ड भण्डारीले डोल्पामा डढेलो निभाउँदा सैनिकले आगोबाट जोगिने पोसाक नलगाएका कारण धेरै क्षति भएको तर्क गरिन् । ‘सुरक्षाका उपकरण प्रयोग नगर्नु जस्ता कमजोरीका कारण मानवीय क्षति भयो’, उनले भनिन् ।
भौगोलिक विकटताले गर्दा समयमा उद्धार गर्न नसकिएको र उपचारका लागि अन्य जिल्लामा पठाउनु परेकाले घाइतेले ज्यान गुमाएको उनको तर्क छ ।
डढेलोका घाइतेलाई उद्धार गर्न जादा सैनिकले आगोबाट जोगिन पोशाक नलगाएकाले मानविय क्षति भएको जानकारी दिएकी भण्डारीले आफ्नो कार्यालयले सामुदायिक वन, सेना, प्रहरीलाई फायर प्रुफ ज्याकेट, ब्याग प्याक, मास्क, पन्जा, हेलमेट लगायतका सामाग्री खरिद गरी वितरण गर्दै आएको दाबी गरिन् । यस्ता आगलागीका घटना न्यूनीकरण गर्न नगरपालिकाले दमकल सञ्चालन गरिरहेको छ । यस्तै तालिम प्राप्त दक्ष अग्नि नियन्त्रकहरू पनि तयारी अवस्थामा राखिएका छन् ।
हाल एउटा मात्र दमकल सञ्चालन गरिरहेको नगरपालिकासँग यसै वर्ष अर्को दमकल पनि थप्ने योजना छ । ‘विपद् कतिबेला आउँछ थाहा हुँदैन, तर हामी सम्भावित जोखिमलाई न्यूनीकरण गर्न र उद्धारका लागि पूर्वतयारीको अवस्थामा छौं । यो आर्थिक वर्षमा अर्को ठूलो क्षमताको दमकल खरिद गर्ने हाम्रो तयारी छ,’ नगरपालिकामा रहेको आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख यामलाल गिरीले भने ।
नयाँ दमकल खरिद गर्न पालिकाले यो वर्ष ८० लाख बजेट विनियोजन गरेको छ । अब आउने नयाँ दमकल ठूलो क्षमताको हुने र पानी पनि धेरै अट्ने भएकाले ठूलो आगलागी नियन्त्रणमा सहज हुने गिरीको बुझाइ छ ।
नगरमा जनघनत्व बढेसँगै आगलागीको जोखिम बढेको भन्दै उनले आगलागी नियन्त्रणका लागि नै नगरपालिकासँग हाल तालिम प्राप्त १२ जना दक्ष जनशक्ति रहेको बताए । व्यक्तिगत सुरक्षा सामग्री र पोसाकसहित खटिने अग्नि नियन्त्रकहरू चौबीसैघण्टा तयारी अवस्थामा हुने उनको भनाइ छ । सम्भावित आगलागीको जोखिम न्यूनीकरणका लागि नगरपालिका सक्षम रहेको उनको दाबी छ ।
वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकालले डढेलो नियन्त्रण गर्नका लागि नगरपालिकाले दमकल सेवा दिँदै आइरहेको बताइन् । नगरपालिकासँग हाल एउटा मात्र दमकल छ ।
ढकालले आगामी दिनमा डढेलो नियन्त्रणका लागि बढी मात्रामा पानी व्यवस्थापन गर्ने र थप अर्को दमकल खरिद गर्ने तयारी रहेको जानकारी दिइन् । साथै पृतना सैनिक हेडक्वाटर सुर्खेतसँग समन्वय गरी वनको डढेलो हेलिकोप्टर मार्फत पनि नियन्त्रण गर्ने योजना रहेको उनको भनाई छ । उनले डढेलो नियन्त्रणका लागि फायर फाइटर जनशक्ति समेत रहेको बताइन् ।
वीरेन्द्रनगरलाई तयार नेपालको साथ
नगरस्तरीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि अमेरिकी सहयोग नियोग युएसएआइडीको तयार नेपाल परियोजनाले दर्बिलो साथ दिएको छ ।
विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक ऐन तर्जुमा र नियमावली, विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि बनाउन तयार नेपालले सघाएको हो ।
त्यस्तै पालिकाको आपत्कालीन कार्यसञ्चालन कार्यविधि, विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना, मनसुन पूर्वतयारी कार्ययोजना, जोखिम संवेदनशील भू–उपयोग योजना जस्ता नीतिहरु बनाउन तयार नेपालले हातेमालो गरेको छ ।
परियोजनाले २०७७ सालमा नगरपालिकासँग द्विपक्षीय सम्झौता गरी विपद् व्यवस्थापन शाखा, आपत्कालीन कार्यसञ्चालन केन्द्र स्थापना तथा सञ्चालन लगायतका विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा तयार नेपालको भूमिका महत्वपूर्ण भएको वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकालले बताइन् ।
यस्तै विपद् पूर्वतयारी सीप विकास प्रशिक्षण, वीरेन्द्रनगर नगरपालिका ९ र ११ मा जग्गा एकीकरण अध्ययन, जोखिममा रहेका घरहरूको नक्साङ्कन, जलवायु अनुकूलन कार्यक्रम तयार नेपालको सहायताबाट गरेको मेयर ढकालले जानकारी दिइन् ।
‘वडा ९, १२ र १ को आँपखोलीमा बाढी नियन्त्रणका लागि जैविक अभियन्त्रण विधिबाट तटबन्धन तथा वडा ११ मा पानीको मुहान संरक्षण तयार नेपालले गरेको छ,’ मेयर ढाकाल भन्छिन्, ‘घर बिमा, सङ्कटासन्न आदिवासी तथा विपन्न समुदायलाई आर्थिक उत्थानशीलता र जलवायु परिवर्तन अनुकूलन सम्बन्धि कार्यक्रम नगरपालिका र तयार नेपालको सहकार्यमा सञ्चालन गरेको हौं ।’
खोज तथा उद्धारमा खटाउन नगर प्रहरी भर्ना गरिँदै
वीरेन्द्रनगरपालिकाले विपद् व्यवस्थापनमा महत्व दिएर लगानी बडाउँदै छ र आवश्यक जनशक्ति पनि व्यवस्थापन गर्न तयारी गरेको छ । आगलागी नियन्त्रणका लागि दक्ष अग्नि नियन्त्रक छँदैछ । त्यसैगरी नगरपालिकाले विपद् व्यवस्थापनमा परिचालन गर्ने गरी यसै वर्ष नगर प्रहरी भर्ना गर्न लागेको हो । यसैवर्ष नगर प्रहरी भर्ना गरिने नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालले बताए । उनका अनुसार केही महिनाभित्र कम्तीमा २५ जना नगर प्रहरी भर्ना गरिनेछ ।
नगर प्रहरीलाई बजार व्यवस्थापन र विपद्को समयमा खोज, उद्धार र राहतको काममा खटाइने छ । यसले विपद्का घटना भएको खण्डमा खोज तथा उद्धारको काममा हुने जनशक्तिको अभावलाई टार्ने नगरपालिकाको विश्वास छ । यस्तै नगरपालिकाले हरेक वडामा विपद्को समयमा खोज तथा उद्धारका लागि तालिम प्राप्त स्वयंसेवकहरुको व्यवस्था गरेको छ । यस्ता स्वयंसेवकहरू २५ जना छन् ।
उनीहरूले हाल विपद्को समयमा खोज तथा उद्धारको काममा सुरक्षाकर्मीका साथ मिलेर काम गर्छन् । यस्तै हरेक वडामा आवश्यक सूचना प्रवाह गर्न सञ्चार सेट पनि वितरण गरिएको नगरपालिकाले जनाएको छ । विपद्का कारण टेलिफोन सेवा अवरुद्ध भएकोमा यी सञ्चार सेटले काम गर्ने भएकाले सहज हुनेछ । पालिकालाई विपद् व्यवस्थापनका यि कार्यहरुमा परियोजनाले मद्धत गरेको छ ।
सिर्जना बुढाथोकी । बुधबार, असोज ०९, २०८१ मा प्रकाशित