कर्णाली । कर्णाली युथ आइकन अवार्डबाट समाजसेवी हरि कंडेल सम्मानित भएका छन्।
अभाव र संघर्षबीच हुर्किएका समाजसेवी हरि कंडेलले गरिबीलाई कमजोरी होइन, समाज परिवर्तनको प्रेरणामा रूपान्तरण गर्दै “इच्छाशक्ति भए परिस्थितिलाई जित्न सकिन्छ” भन्ने सन्देश समाजमा स्थापित गरेका छन्।
कर्णाली युवा महोत्सवको अवसरमा कंडेललाई “कर्णाली युथ आइकन अवार्ड” प्रदान गरिएको छ।
यस वर्ष कंडेलसहित १० जना युवालाई उक्त सम्मान प्रदान गरिएको हो। कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीले उनीहरूलाई अवार्ड हस्तान्तरण गरेका थिए।
लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय कंडेल कर्णालीका युवामाझ प्रेरणाको स्रोतका रूपमा चिनिन्छन्। पत्रकारीताबाट आफ्नो सार्वजनिक जीवन सुरु गरेका उनी हाल भाषा प्रशिक्षकका रूपमा पनि परिचित छन्। सामाजिक उत्तरदायित्व, शैक्षिक सहयोग र समुदायसँगको निरन्तर संलग्नताले उनलाई विशेषगरी युवाहरूबीच लोकप्रिय बनाएको छ।
कंडेलले बाल क्लब तथा युवा क्लबहरूलाई सहयोग गर्ने, जेहेनदार विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्ने तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई निःशुल्क शैक्षिक तथा भाषा कक्षा सञ्चालन गर्ने कार्यमा सक्रियता देखाउँदै आएका छन्। शिक्षा पहुँचबाट टाढा रहेका विद्यार्थीहरूलाई नजिक ल्याउने अभियानमा उनको योगदान उल्लेखनीय मानिन्छ।
त्यसैगरी, विद्यालय स्तरका भौतिक संरचना सुधारमा पनि उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। विभिन्न विद्यालयमा सरस्वती मन्दिर तथा अन्य संरचना निर्माणमा सहयोग गर्नुका साथै स्पोर्ट्स क्लबहरूलाई सहयोग गर्दै खेलकुद क्षेत्रको विकासमा पनि हातेमालो गरेका छन्। स्थानीय सामुदायिक विद्यालयहरूलाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको उनको सामाजिक यात्रा निरन्तर विस्तार हुँदै गएको छ।
पत्रकारीता क्षेत्रमा करिब चार वर्ष सक्रिय रहेका कंडेलले पछिल्लो १२ वर्षभन्दा बढी समयदेखि कोरियन भाषा प्रशिक्षकका रूपमा काम गर्दै आएका छन्। उनले एक दर्जनभन्दा बढी कोरियन भाषा सम्बन्धी पुस्तकसमेत लेखेका छन्, जुन विद्यार्थीहरूबीच लोकप्रिय बनेका छन्।
कंडेलको कार्यशैलीले “समाजका लागि केही गरौँ” भन्ने भावनालाई व्यवहारमा उतारेको देखिन्छ। शिक्षा, भाषा, खेलकुद र सामुदायिक विकासलाई एउटै सूत्रमा बाँधेर उनले निरन्तर काम गर्दै आएका छन्। यसले उनलाई केवल भाषा प्रशिक्षक वा पत्रकार मात्र नभई समाजसेवी र प्रेरणादायी व्यक्तित्वका रूपमा स्थापित गरेको छ।
कर्णाली युथ आइकन अवार्डले उनको योगदानको सम्मान गर्नुका साथै कर्णालीका युवाहरूलाई समाजसेवातर्फ प्रेरित गरेको छ। कंडेल जस्ता व्यक्तित्वलाई गरिएको सम्मानले सामाजिक योगदानको मूल्यांकनसँगै आगामी पुस्ताका लागि सकारात्मक सन्देश प्रवाह हुने अपेक्षा गरिएको छ।
सम्मानपछि कंडेलको सामाजिक कार्यको चर्चा थप बढेको छ। शिक्षा, भाषाशिक्षण र सामुदायिक सेवामा उनको निरन्तर समर्पणका कारण उनी कर्णालीका युवामाझ उदाहरणीय व्यक्तित्व बनेका छन्। यस सम्मानसँगै कंडेलको सामाजिक यात्रा अझ सशक्त बन्ने विश्वास गरिएको छ। कर्णालीका युवा, विद्यार्थी र समुदायसँग जोडिएर उनले आगामी दिनमा पनि यस्तै योगदानलाई निरन्तरता दिने बताएका छन्।






संवाददाता । मङ्गलबार, बैशाख २२, २०८३ मा प्रकाशित