सुर्खेत । वीरेन्द्रनगरमा महिलामैत्री ‘मिलन पार्क’ निर्माण सम्पन्न भएसँगै सञ्चालनमा आएको छ । वीरेन्द्रनगर–८ मा निर्माण गरिएको पार्कको आइतबार वीरेन्द्रनगर नगरप्रमुख मोहनमाया ढकालले उद्घाटन गरेसँगै पार्क सञ्चालनमा आएको हो ।
युरोपियन युनियन र फिन्ल्याण्ड सरकारको आर्थिक सहयोग तथा वीरेन्द्रनगर नगरपालिकामा सञ्चालित ‘सिटीज फर वुमेन’ (महिलामैत्री शहर) परियोजनाअन्तर्गत पार्क निर्माण गरिएको हो ।
शहरी योजनाकार इन्जिनियर सुगम गौतमका अनुसार करबाहेक करिब १ करोड ६५ लाख रुपैयाँ लागतमा १० महिनामा पार्क निर्माण सम्पन्न भएको हो । स्थानीय समुदायसँग प्रत्यक्ष छलफल र सुझाव संकलन गरी पार्कको डिजाइन तयार गरिएको उनले बताए ।
पार्क निर्माणको ठेक्का एसबी, केएनएस र त्रिशक्ति जेभी, सुर्खेतले लिएको थियो ।
पार्क उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख मोहनमाया ढकालले पार्क महिलामैत्री अवधारणामा निर्माण गरिए पनि सबै नागरिकले अपनत्व महसुस गर्ने गरी विकास गरिएको बताइन् । उनले बालबालिकादेखि ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिसम्म सबैका लागि उपयोगी हुने गरी पार्क निर्माण गरिएको उल्लेख गरिन् ।
सार्वजनिक स्थल सबै नागरिकका लागि सुरक्षित, सहज र पहुँचयोग्य हुनुपर्ने भन्दै उनले पार्कको संरक्षण र उचित व्यवस्थापनमा स्थानीय समुदायको पनि महत्वपूर्ण भूमिका रहने बताइन् ।
पार्कमा बालबालिकाका लागि खेल्ने तथा सिक्ने स्थान, युवाहरूका लागि विभिन्न गतिविधि गर्न सकिने संरचना तथा योग र शारीरिक अभ्यासका लागि स्थानसमेत निर्माण गरिएको छ ।
त्यस्तै, ज्येष्ठ नागरिकलाई आराम तथा समय बिताउन सहज हुने संरचना र अपाङ्गता भएका व्यक्तिले समेत सहज रूपमा प्रयोग गर्न सक्ने गरी पार्कका संरचना निर्माण गरिएको छ । पार्कमा सबै वर्गका नागरिकले प्रयोग गर्न मिल्ने अपाङ्गतामैत्री शौचालयको समेत व्यवस्था गरिएको छ ।
बालबालिकाले खेल्दै रमाउन र सिक्न सक्ने वातावरणका साथै अध्ययन तथा सिकाइका लागि उपयुक्त स्थानको व्यवस्था गरिएको छ । धार्मिक तथा सांस्कृतिक गतिविधिका लागि पूजास्थलसमेत निर्माण गरिएको छ ।
पार्कले विभिन्न उमेर र समूहका नागरिकलाई एउटै स्थानमा जोड्दै सुरक्षित, समावेशी र मनोरञ्जनात्मक सार्वजनिक स्थलका रूपमा योगदान गर्ने अपेक्षा गरिएको छ ।









