Karnali Media
२०८३ असोज २८ , बुधबार

कर्णालीमा चाडपर्वको समयमा ५ हजार बढी प्रहरी परिचालन



आउँदै गरेका ठूला पर्व बडादसैँ, तिहार, छठलगायतका लागि कर्णालीमा ५ हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले तयार पारेको चाडपर्वलक्षित सुरक्षा योजना–२०८३ अनुसार प्रदेशभर ५ हजार ३ सय १४ जना प्रहरी जनशक्ति परिचालन गरिएको हो । १४ सय ६२ वटा ड्युटीमा प्रहरी खटाइएको छ । आवश्यक परेको खण्डमा रिजर्भ प्रहरी कार्यालयहरूबाट थप प्रहरी टोली खटाउने व्यवस्था मिलाइएको छ ।

सुरक्षा योजना असोज २५ गते घटस्थापनाबाट लागू गरिएको छ । यो सुरक्षा योजना कात्तिक ३० गते छठसम्मै लागू हुनेछ ।

चाडपर्वको समयमा हुन सक्ने कुनै पनि आपराधिक गतिविधि तथा अवाञ्छित क्रियाकलाप हुन वा गर्न नदिई आमनागरिकलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउने लक्ष्य सुरक्षा योजनाको रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कर्णालीमा कुल ५ हजार ५०७ जना प्रहरी जनशक्ति रहेको छ । त्यसमध्ये ९६ प्रतिशत जनशक्तिलाई प्रत्यक्ष रूपमा चाडपर्व सुरक्षा ड्युटीमा खटाइएको छ ।


सुरक्षा योजनालाई प्रभावकारी बनाउन २८ वटा मोबाइल गस्ती, ९८ वटा मोटरसाइकल गस्ती र ६० वटा क्विक रेस्पोन्स टिम (क्यूआरटी) परिचालन गरिएको छ । त्यस्तै, १४८ वटा पैदल गस्ती टोली तयार गरिएको छ । यस्तै, २०४ वटा लामो तथा छोटो दूरीका गस्ती गरिनेछन् भने १७६ स्थानमा पिकेट राखिनेछ । ६७ वटा स्थानमा सवारीसाधनको नियमित, विशेष तथा आकस्मिक चेकजाँच गरिनेछ । ४७ स्थानमा ट्राफिकसहितको संयुक्त चेकजाँच, ३८ स्थानमा महत्त्वपूर्ण प्रतिष्ठान, धार्मिक तथा पर्यटकीय स्थलको सुरक्षा र ३७ स्थानमा यात्रु सहायता तथा नागरिक सहायता कक्ष स्थापना गरी प्रहरीले सुरक्षा व्यवस्था मिलाएको छ । अन्तर्राष्ट्रिय सीमामा समेत सहायता कक्ष स्थापना गरिएको छ । २४ वटा अतिसंवेदनशील स्थानमा माइकिङमार्फत प्रचारप्रसार, ३१ स्थानमा बैंक तथा वित्तीय संस्थाको सुरक्षा र बजार अनुगमन, १० जना विशिष्ट व्यक्तिको सुरक्षा तथा ४९४ वटा अन्य विभिन्न ड्युटीसमेत राखिएको प्रहरीले जनाएको छ ।

चाडपर्वको नाममा हुन सक्ने अवाञ्छित तथा आपराधिक क्रियाकलापहरूको रोकथाम एवम् नियन्त्रण गरी नागरिकले सुरक्षित र हर्षोल्लासका साथ चाडपर्व मनाउने विश्वसनीय वातावरण सिर्जना गर्ने, सार्वजनिक स्थल, मेलापर्वलगायतका स्थानहरूमा झैझगडा, होहल्लालगायतका कुनै पनि आपराधिक तथा अवाञ्छित गतिविधि हुन नदिई भरपर्दो शान्ति सुरक्षा कायम गर्ने उद्देश्य सुरक्षा योजनाको रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख डीआईजी जयराज सापकोटाले बताए । उनका अनुसार बैंक तथा वित्तीय संस्था, सुनचाँदी र गरगहना पसललगायत आर्थिक कारोबार हुने स्थानहरू र बढी भीडभाड हुने स्थानहरूमा चोरी, लुटपाट तथा पाकेटमारका घटनाहरूलाई नियन्त्रण गर्ने, बजारमा हुने कृत्रिम अभाव, मूल्यवृद्धि, कालोबजारी र ठगीका घटनाहरूलाई पूर्ण रूपमा नियन्त्रण गर्ने, सवारी दुर्घटनाका घटनाहरूलाई न्यूनीकरण गर्ने, तोकिएभन्दा बढी भाडा लिन नदिने र सहज आवागमनको व्यवस्था मिलाउने, अवैध हातहतियार तथा विस्फोटक पदार्थहरूको ओसारपसार र प्रयोगमा नियन्त्रण गर्ने कार्य पनि सुरक्षा योजनाले गर्नेछ ।

साथै, धार्मिक एवम् साम्प्रदायिक घटनाहरू हुन नदिने, फरार प्रतिवादी तथा जेन्जी आन्दोलनको क्रममा विभिन्न कारागारहरूबाट फरार रहेका कैदीबन्दीहरूको पहिचान गरी पक्राउ गर्ने, अवैध लागूऔषध ओसारपसार तथा बिक्रीवितरणलाई कडाइका साथ नियन्त्रण गर्ने, अवैध भन्सार चोरीतस्करी, पटका, आतसबाजीलगायत विस्फोटक पदार्थहरूको आयात, ओसारपसार तथा प्रयोग हुन नदिन कडाइका साथ चेकजाँचको व्यवस्था मिलाउने, अवैध मदिरा उत्पादन तथा बिक्रीवितरण, जुवातास, लङ्गुरबुर्जाजस्ता गतिविधिहरूलाई पूर्ण रूपमा निस्तेज पार्ने उद्देश्य पनि सुरक्षा योजनाको छ ।

प्रकाशित मिति : २०८३ असोज २८ गते बुधबार