Karnali Media
२०८३ असोज १५ , बिहीबार
वीरेन्द्रनगर चक्रपथ

वीरेन्द्रनगरको चक्रपथ निर्माण दुई दशकसम्म पनि सकिएन



वीरेन्द्रनगरको विकासलाई अघि बढाउन मुख्य कडीका रूपमा लिइएको वीरेन्द्रनगरको चक्रपथ निर्माण कार्य सुरु भएको दुई दशक भयो । तर अझै चक्रपथ निर्माणको काम पूरा हुन सकेको छैन ।

तत्कालीन जिल्ला विकास समितिले आर्थिक वर्ष २०६२/०६३ मा चक्रपथ निर्माणको काम सुरु गरेको थियो । तर अहिलेसम्म चक्रपथ निर्माणको काम पूरा हुन सकेको छैन । स्थानीयको जग्गा विवाद, अदालतको आदेश, संरक्षित वन क्षेत्रलगायतका कारण चक्रपथ निर्माण कार्य अघि बढ्न सकेको छैन ।

३१ किलोमिटर लामो चक्रपथको २०७८ सालसम्म २१ किलोमिटर मात्र ट्रयाक खोलिएको थियो । १६ वर्षपछि २१ किलोमिटर ट्रयाक खोलिएको चक्रपथको त्यतिबेला करिब एक किलोमिटर मात्र सडक कालोपत्र गरिएको थियो । त्यतिबेला सुब्बाकुनादेखि अमृतडाँडासम्म करिब एक किलोमिटर सडक मात्रै कालोपत्र भएको थियो । बाँकी खण्डमा स्थानीयको जग्गा तथा घर सडकमा पर्ने विवाद, अदालतको आदेश र वन क्षेत्रका कारण निर्माण अघि बढ्न सकेको थिएन ।

लामो समयदेखि विभिन्न अवरोधका कारण सुस्त बनेको चक्रपथको पुरानो ठेक्काको अवधि पनि पटक–पटक थपिएको थियो । तर पनि काम पूरा हुन सकेन । आव २०७९/८० को असारमा सम्झौताको अवधि सकिएपछि पुरानो ठेक्काबाट बाँकी काम अघि बढ्न सकेन । त्यसपछि चक्रपथको बाँकी काम नयाँ प्रक्रियाबाट अघि बढाइयो ।

अहिले भने चक्रपथअन्तर्गत नेवारे खोला–धुलियाबिट खण्डमा नयाँ ठेक्कामार्फत निर्माण भइरहेको छ । करिब ४ दशमलव ३ किलोमिटर सडक कालोपत्र गर्ने गरी न्यू दीपक–लक्ष्मण जेभीसँग ठेक्का सम्झौता भएको छ । १७ करोड ४७ लाख ३४ हजार ३ सय ८७ रुपैयाँ (भ्याटसहित) मा उक्त कम्पनीसँग ठेक्का सम्झौता भएको पूर्वाधार विकास निर्देशनालय सुर्खेतका इन्जिनियर अजितकुमार थापाले जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा ठेक्का प्रक्रिया अघि बढाएर पुसमा सम्झौता भएको उक्त खण्डको ठेक्का अवधि तीन वर्ष रहेको छ । सम्झौताअनुसार आगामी वर्ष पुस ३० गते यसको म्याद सकिनेछ ।

इन्जिनियर थापाका अनुसार अहिले उक्त खण्डमा करिब २० देखि २१ प्रतिशत भौतिक प्रगति भएको छ । सडक निर्माणसँगै पाँचवटासम्म बक्स कल्भर्ट, दुईदेखि तीनवटा स्ल्याब कल्भर्ट, नाली, ग्याबिन तथा रिटेनिङ वाललगायत संरचना निर्माण गर्नुपर्नेछ । सोहीअनुसार काम अघि बढेको उनले बताए । उनले भने, ‘करिब ४ दशमलव ३ किलोमिटर सडक कालोपत्र गर्ने काम हो । दुईवटा बक्स कल्भर्ट निर्माणाधीन छन् । एउटा स्ल्याब कल्भर्टको काम सकिएको छ । नाली निर्माणको काम पनि भइरहेको छ ।’

वर्षातको समयमा मौसमले काम गर्न अनुकूल नभए पनि काम गर्न सकिने स्थानमा काम भइरहेको उनले बताए । वर्षातको समयमा गर्न बाँकी काम भने यो मौसम सकिएपछि हुने उनी बताउँछन् ।

चक्रपथको ३ किलोमिटर सडकको नयाँ ठेक्कामार्फत काम अघि बढे पनि ३१ किलोमिटरको सम्पूर्ण चक्रपथ भने अझै पूरा हुन बाँकी छ । पुरानो आयोजनामा ट्रयाक खोलिएको भागलाई सडक स्तरोन्नति र कालोपत्र गर्नुपर्ने तथा ट्रयाक नै खोल्न बाँकी रहेका स्थानमा नयाँ काम अघि बढाउनुपर्ने अवस्था छ ।


यसबीच चक्रपथका बाँकी खण्डका लागि आवश्यक प्राविधिक प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ ।

नेवारे खोला–धुलियाबिट खण्डमा ठेक्का सम्झौता भएर काम भइरहे पनि बाँकी खण्डमा एलाइनमेन्ट, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), वातावरणीय अध्ययनलगायतका प्रक्रिया पूरा गर्नुपर्नेछ । त्यसपछि मात्रै निर्माणको काम अघि बढाउन सकिने निर्देशनालयले जनाएको छ ।

पूर्वाधार विकास निर्देशनालयका सूचना अधिकारी वीरेन्द्रजंग शाहीका अनुसार बाँकी खण्डको डीपीआर तथा वातावरणीय अध्ययनको काम विश्व बैंकको सहयोगमा सञ्चालित प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम (पीएलआरआईपी) मार्फत अघि बढाउने तयारी छ । चक्रपथको बाँकी खण्डका लागि बजेटको व्यवस्था भए पनि निर्माण सुरु हुने निश्चित मिति भने तय भइसकेको छैन । आयोजना कार्यालयबाट आवश्यक प्रक्रिया पूरा गरी सम्झौता भएपछि मात्र बाँकी खण्डको काम अघि बढ्नेछ । बाँकी खण्डको सुरुवात सुब्बाकुनाबाट गर्ने वा अन्य बिन्दुबाट गर्ने भन्ने विषय पनि प्राविधिक अध्ययनपछि टुंगो लाग्ने सूचना अधिकारी शाहीले बताए ।

चक्रपथको निर्माणले वीरेन्द्रनगर उपत्यकाका विभिन्न बस्ती र वडालाई सडक सञ्जालमा जोड्ने उद्देश्य राखेको छ । यसको रुट सुब्बाकुनाबाट घुस्रा हुँदै उपत्यकाको दक्षिण भागबाट बाङ्गेसिमलसम्म जोडिने गरी अघि बढाइएको हो ।

पछिल्ला वर्षहरूमा चक्रपथ निर्माणका लागि प्रदेश सरकारले पनि बजेट विनियोजन गर्दै आएको छ । आर्थिक वर्ष २०८२/८३ को प्रदेश बजेटमा ‘सुर्खेत उपत्यका चक्रपथ (नेवारे–धुलियाबिट र सालसाँडाँ–मनिकापुर खण्ड)’ शीर्षकमा ६ करोड ७० लाख रुपैयाँ विनियोजन गरिएको थियो । चालु आर्थिक वर्ष २०८३/८४ मा पनि प्रदेश सरकारले सडक पूर्वाधारका आयोजनामा चक्रपथलाई समेटेको छ ।

लामो समयसम्म पनि चक्रपथको काम अघि नबढ्दा स्थानीयलाई समस्या भइरहेको यो क्षेत्रकी स्थानीय देवी शाही बताउँछिन् । उनका अनुसार सडकको अवस्था नाजुक छ । आवतजावत गर्न पनि समस्या भइरहेको उनले बताइन् । सडकको आधाअधुरो कामले नागरिकलाई सास्ती दिएको उनी बताउँछिन् ।

प्रकाशित मिति : २०८३ असोज १५ गते बिहीबार