जुम्ला । तिला गाउँपालिका–४ का नगेन्द्रराज उपाध्यायले नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जुम्ला जिल्लाबाट महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्।
उपाध्यायले सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसको १५औँ महाधिवेशन सफलताको शुभकामना व्यक्त गरेका छन्। साथै उनले पार्टीका क्षेत्रीय प्रतिनिधिहरूलाई आफ्नो उम्मेदवारीमा सहयोग र समर्थन गर्न आग्रह गरेका छन्।
उम्मेदवारी घोषणा गर्दै उपाध्यायले पार्टीभित्र एकता, सहकार्य र संगठन सुदृढीकरणलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
“मिल्यो भने सबैजना कांग्रेसको लहर चलाउँछौँ,” भन्ने सन्देशसहित उनले पार्टीलाई थप बलियो र व्यवस्थित बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरेका छन्।
स्थानीय तहमा सक्रिय राजनीतिक तथा सामाजिक व्यक्तित्वका रूपमा परिचित उपाध्यायले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेसँगै जुम्लामा नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा उनको उम्मेदवारीलाई चासोका साथ हेरिएको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न तहका नेतृत्व चयनका लागि तयारी भइरहेका बेला उपाध्यायले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका हुन्।




