सुर्खेत। कर्णाली प्रदेशमा मंसिर १६ देखि २७ गतेसम्म हुने दसौं राष्ट्रिय खेलकुदको लागि मूल आयोजक समितिको सचिवालय उद्घाटन गरिएको छ ।
सोमबार कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले सचिवालयको उद्घाटन गरे । उद्घाटन कार्यक्रममा सामाजिक विकास मन्त्री जितबहादुर मल्ल, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव राम चरित्र मेहता, कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रविन चन्द लगायतको सहभागिता थियो ।
दसौं खेलकुदको आयोजक प्रदेशमा कार्यालय स्थापना गरेर प्रशासनिक लगायतका कामहरू सुरू गर्ने सदस्यसचिव मेहताले बताए । तोकिएकै मितिमा खेलकुद हुनेमा कुनै शंका नगर्न आग्रह गरे । तयारीहरू भइरहेकोले कुनै पनि अवस्थामा खेलकुद नरोकिने उनको भनाइ । यहाँको भौतिक संरचना लगायतका सबै कुराहरूको अध्ययन गरेकोले एक हप्ताको खेललाई सहज होस् भनेर दुई हप्ता समय राखिएको जानकारी दिए । योसँगै होटल व्यवस्थापन, सुरक्षा, स्वास्थ्यका निकायसँग पनि छलफल गरिसकिएको छ । उनले भने, ‘तीनै तहका सरकारको समन्वय छ । राम्रो व्यवस्थापनका साथ खेलकुद हुन्छ । सबैको सहयोगको आवश्यकता छ ।’ कर्णालीमा खेलकुद गरेर नयाँ इतिहास लेखिने उनको भनाइ छ ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष एवं होटल व्यवस्थापन उपसमिति संयोजक प्रमोद हमालले अहिलेसम्म ५ पटक बैठक बसेर होटलको तथ्यांक नै ल्याइएको बताउँदै यहाँ ४८ सयभन्दा बढी बेडहरू र होमस्टे, संस्था लगायतका ६८ हलहरू भएकोले हामीले व्यवस्थापन गर्न सक्छौँ । उनले भने, ‘१६ गतेसम्म धेरै विधाका गेमहरू सक्ने योजनामा छौँ । त्यसैले होटल व्यवस्थापनमा धेरै समस्या हुन्छ जस्तो लाग्दैन ।’ १५० बेड रहेको सिद्धार्थ र शुभ होटललाई भीआईपी पाहुनाहरूको लागि स्टकमा राखिएको उनले बताए ।
मुख्यमन्त्री शाहीले आइतबार मूल आयोजक समितिको बैठक बसिसकेपछि अब खेलकुद हुनेमा शंका नगर्न आग्रह गरे ।
बैठकले धेरै द्विविधाको अन्त्य भएको बताए । सचिवालयको उद्घाटन भएसँगै धेरै कुरा स्पष्ट भएको बताउँदै उनले कर्णाली सरकार खेलकुदको लागि निकै जिम्मेवार रहेको बताए ।











