वीरेन्द्रनगरमा चल्ने अटोले मनपरी भाडा असुलेको भन्दै व्यापक जनगुनासो आएपछि ट्राफिक प्रहरीले छड्के चेकजाँच गरेको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको संयुक्त आयोजनामा अटोको छड्के चेकजाँच गरिएको हो ।
सोमबार साँझ गरिएको छड्के अनुगमनबाट १४ वटा अटो नियन्त्रणमा लिइएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख एसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए । उनका अनुसार अटोले मनपरी भाडा असुल्दै आएको गुनासो स्थानीयले गर्दै आएका थिए । त्यही गुनासोलाई सम्बोधन गर्दै छड्के अनुगमन गरिएको उनले बताए । प्रदेश र जिल्ला ट्राफिकको दुई टोली बनाएर अनुगमन गरेका हौँ । उनले भने, ‘यात्रु बनेर हामीले अनुगमन गरेका हौँ । अनुगमनको क्रममा १४ अटोले बढी भाडा भने । उनीहरूलाई नियन्त्रणमा लियौँ ।’
नियन्त्रणमा लिएका अटोलाई मंगलबार सम्झाइबुझाइ छोडिएको रिजालले बताए । पहिलो पटक सचेत गराएर छोडेका छौँ । फेरि पनि बढी भाडा लिएको जानकारी आएमा आवश्यक कारबाही गर्नेछौँ । उनले भने, ‘हाम्रो अनुगमनको कार्य नियमित रूपमा सञ्चालन हुनेछ ।’
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले यसअघि महिला अटो चालकहरूलाई सम्मान तथा सेफ्टी ज्याकेट वितरण कार्यक्रम गरेको थियो । महिला अटो चालकहरूको सुरक्षा, स्वास्थ्य सचेतना तथा पेशागत सशक्तीकरणलाई लक्षित गर्दै उक्त सेफ्टी ज्याकेट वितरण गरिएको हो । सेफ्टी ज्याकेट वितरण कार्यक्रममा कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, कर्णाली महिला स्वास्थ्य क्लिनिकको समन्वय एवं सहयोग रहेको थियो ।
केही समयअघि मात्र जिल्ला ट्राफिक कार्यालयले पनि अटो चालकहरूलाई सेफ्टी ज्याकेट वितरण गरेको थियो । अटो चालकलाई सडक सुरक्षाप्रति थप जिम्मेवार बनाउन ट्राफिक सचेतना कार्यक्रमसँगै सेफ्टी ज्याकेट वितरण गरिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको आयोजना तथा ट्रस्ट एजुकेशनल सेन्टर वीरेन्द्रनगरको सहयोगमा कार्यक्रम भएको हो ।
वीरेन्द्रनगरमा अटो सञ्चालन गर्दै आएका करिब एक सय ३० जना चालकको सहभागिता रहेको कार्यक्रममा चालकलाई सेफ्टी ज्याकेट वितरण गर्नुका साथै सडक सुरक्षा, ट्राफिक नियमको पालना र दुर्घटना न्यूनीकरणका विषयमा जानकारी दिइएको थियो ।








