डोल्पाका यार्सा पाटन जेठ १ गतेदेखि खुल्ने भएका छन् । जिल्लाका यार्सा संकलन तथा संरक्षणसम्बन्धी विभिन्न सरोकारवाला निकायको बैठकले जेठ १ गतेदेखि यार्सा पाटन खोल्ने निर्णय गरेको हो ।
जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्यामबहादुर रोकायाको अध्यक्षतामा बसेको सरोकारवाला निकायको बैठकले जिल्लामा रहेका झन्डै दुई दर्जनभन्दा बढी यार्सा पाटन सर्वसाधारणका लागि खुला गरिने निर्णय गरेको छ ।
यार्सा संकलन गर्न डोल्पाका विभिन्न स्थानीय र छिमेकी जिल्लाबाट सर्वसाधारण पाटन पुग्ने गर्छन् । यार्सा एक बहुमूल्य जडीबुटी हो । यो समुद्री सतह ३००० मिटर देखि ६००० मिटर उचाइमा पाइन्छ । शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज र विभिन्न सामुदायिक वन समितिअन्तर्गत बन्द रहेका यार्सा पाटन यो वर्ष जेठ १ गतेदेखि असार १ गतेसम्म एक महिनाका लागि फुकुवा गर्ने निर्णय गरिएको हो ।
डोल्पाका विभिन्न यार्सा पाटन गत वर्ष जेठ १० गते फुकुवा गरिएको थियो । यो वर्ष हिउँदको समयमा कम हिउँ परेको हुँदा जेठ १ गते पाटन खुला गर्ने निर्णय गरिएको हो । यार्सा पाटन प्रवेशबापत निकुञ्ज मध्यवर्ती क्षेत्रकालाई ५०० रुपैयाँ जिल्लाभित्रका लाई रु २००० रुपैयाँ र जिल्ला बाहिरका लाई रु ३००० रुपैयाँ तिर्नुपर्नेछ ।
संवाददाता । आइतबार, बैशाख १७, २०८० मा प्रकाशित