सुर्खेत । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले कर्णालीमा आफ्नो पार्टीलाई बेवास्ता गरिएको बताएका छन् । वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री प्रचण्डले दम्भ देखाए गठबन्धन कुनै पनि बेला तोडिन सक्ने उनको चेतावनी दिए ।
सबैलाई सम्मानजनक व्यवहार गरिनुपर्ने बताउँदै उनले भने, ‘कर्णालीमा हाम्रो पार्टीलाई पूरै बेवास्ता गरिएको छ। सरकारमा एकलौटी गर्न खोजिएको छ । यो राम्रो होइन। गठबन्धन टिकाउने कुरा भइरहेको छ, तर हामीलाई बाइपास गरेर पीडा दिइएको छ । यसले गठबन्धन धरापमा पार्न सक्छ ।’
यस्तै उनले भ्रष्टाचारका सबै खालका विकृतीबाट टाढा रहने र अरु पार्टीका नेताभन्दा भिन्न देखिन पनि आफ्ना पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएको बताए ।सत्ता गठबन्धनले देश र जनताको पक्षमा काम गरोस् भन्ने आफ्नो अपेक्षा रहेकोले समाज समृद्ध भए मात्र जनता खुसी हुने बताउँदै उनले आफ्नो पार्टी समृद्धिको अभियानमा रहेको बताए ।
संवाददाता । बुधबार, बैशाख २०, २०८० मा प्रकाशित