Karnali Media
२०८३ असार ९ , मंगलबार

मुगुमा घाम पावर मिनिग्रेट आयोजनाबाट २ सय ३० घरमा बिजुली बत्ती



मुगु जिल्लाको सदरमुकाम गमगढीबाट उत्तर–पश्चिम दिशामा पर्ने दुर्गम सोरु गाउँपालिकामा घाम पावर मिनिग्रेट आयोजनाबाट सोरुका २ सय ३० भन्दा बढी घरपरिवार लाभान्वित भएका छन्।

वर्षौंदेखि दियालो बाल्दै आएको सोरुकोट बजार, सोरुकोट गाउँ, बम्जाआँ, जिमा गाउँका गरी हाल जम्मा २ सयभन्दा बढी घरधुरीमा बिजुली बत्ती पुगेको छ।

घरमा बिजुली बत्ती बलेपछि स्थानिय बासिन्दा विशेषग‍री रातिको समयमा काम गर्ने महिला र पढ्ने विद्यार्थीहरूलाई सहज भएको छ भने सोरु गाउँपालिकाको दैनिक प्रशासनिक काममा सहजता भएको छ।


दैनिक जनताका प्रशासनिक काम काजहरु सहजरूपबाट सम्पादन हुँदै गएपछि सेवाग्राहीहरू खुसी भएको सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीले बताए। सोरु गाउँपालिकाको रु ३४ लाख र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ३ करोड गरी जम्मा ३ करोड ३४ लाखमा उक्त आयोजना सम्पन्न भएको घाम पावर मिनिग्रेटका प्रोजेक्ट म्यानेजर जीवन टोयानाले जानकारी दिए।

हालसम्म विद्युत बिस्तार हुन नसकेको दुर्गम सोरु गाउँपालिकामा सोलार सिस्टमको घाम पावर मिनिग्रेटले ठूलो राहत मिलेको छ। जम्मा ४ सय ५० वाटका १ सय ३६ सोलार प्यानल जडान गरी विद्युत लाइन बिस्तार गरिएको छ। उत्पादित विद्युत अन्य गाउँमा पनि बिस्तार गरिने बताइएको छ।

प्रकाशित मिति : २०८० साउन ८ गते सोमबार