नेपाल नागरिक उड्डयन प्राधिकरणले दुर्गम क्षेत्रको हवाई उडानमाथि लगाइएको प्रतिबन्ध हटाएको छ ।
प्राधिकरणले उडानसम्बन्धी मापदण्डलाई कडाइका साथ लागु गर्दै देशभरको पहाडी क्षेत्रमा अवस्थित ‘सर्ट टेक अफ एन्ड ल्यान्डिङ’ (स्टोल) अर्थात् छोटो उडान र अवतरण हुने विमानस्थलमा यसअघि लगाइएको उडान समयावधि हटाएको हो ।
प्राधिकरणका अनुसार उडान सुरक्षा मापदण्डको कडाइका साथ पालना गर्ने र मौसमअनुकूल उडान गर्ने गरी यसअघिको उडान प्रतिबन्ध हटाइएको छ ।
यसअघि प्राधिकरणले दुर्गम क्षेत्रका विमानस्थलमा ‘अपरेसन आवर’भित्र मात्रै एयरलाइन्सले उडान गर्न पाउने निर्णय गरेको थियो ।
प्राधिकरणले आजैदेखि देशभरको पहाडी क्षेत्रमा अवस्थित स्टोल उडान सञ्चालनलाई थप सुरक्षित तथा व्यवस्थित गर्नका लागि चार निर्णय गरेको हो । पहाडी क्षेत्रका जनताको हवाई यातायातमा पहुँच वृद्धि गरेर विश्वसनीयता कायम गर्ने उद्देश्यले तत्काल लागु हुने गरी निर्णय लिइएको प्राधिकरणले जनाएको छ ।
संवाददाता । बिहिबार, साउन ३२, २०८० मा प्रकाशित