सुर्खेत । सुर्खेतमा रहेको राष्ट्रिय वाणिज्य बैंकका कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सेवा बन्द गरिएको छ । बैंकको सुर्खेत शाखामा कार्यरत १८ जना कर्मचारीमध्य १० जनामा आइतबार कोरोना पुष्टि भएपछि सेवा बन्द गरिएको हो ।
दुई जना कार्यालय सहयोगीसहित थप तीन जना कर्मचारीमा लक्षणसहितको संक्रमण देखिए पनि परीक्षण हुन बाँकी रहेको बैंकका प्रमुख लिलाराम ढुंगानाले नेपालीरैबारलाई जानकारी दिए । उनकाअनुसार बैंकको सुरक्षार्थ खटिने एक जना गार्डलाई कोभिड अस्पताल कालागाउँमा भर्ना गरिएको छ ।
संक्रमित बाँकी नौ जना कर्मचारीहरु होमआइसोलेशनमा रहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रमुख ढुंगानाले बताए । ‘लक्षण देखिएपनि परीक्षण हुन बाँकी रहेका र पुष्टी भएका कर्मचारीसहित आइसोलेशनमा बस्दा सेवा प्रवाह गर्न सकिने अवस्था देखिएन् । त्यसैले बैंकको सेवा बन्द गरेका हौं,’ ढुंगानाले भने, ‘कम्तिमा चार दिन संक्रमित कर्मचारीहरुको अवस्था हेर्ने र सामान्य अवस्था भएपछि सिमित सेवा सुचारु गर्ने तयारीमा छौं ।’ सोमबारदेखी बैंक बन्द गरेर सेनिटाइज गर्ने तयारी भइरहेको उनको भनाई छ । बैंकको सुर्खेत शाखाको सेवा बन्द भएपनि वीरेन्द्रनगर शाखाबाट भने सेवा प्रवाह भइरहेको ढुंगानाले उल्लेख गरे ।
संवाददाता । सोमबार, माघ ०३, २०७८ मा प्रकाशित