सुर्खेत । सुर्खेत महिला जेसीजले ज्येष्ठ नागरिक मिलन केन्द्रमा तिज मनाएको छ ।
मंगलबार वीरेन्द्रनगर ८ सुर्खेतमा रहेको ज्येष्ठ नागरिक मिलन केन्द्रमा ज्येष्ठ नागरिकहरुलाई दर खुवाएर सुर्खेत महिला जेसीजले तिज मनाएको हो ।
पछिल्लो समय होटेलहरुमा दर खाएर तिज मनाउने प्रवृतिले हाम्रो संस्कार बिर्साएर विकृति फैलिएको भन्दै अग्रजहरुलाई दर खुवाएर तिज मनाएको छ ।
सुर्खेत महिला जेसीजकी अध्यक्ष सीता भण्डारीले संस्कृति बचाउदै परम्परागत शैलीमा आफैँ गाउने नाच्ने देखि लिएर सबै आफूले बनाएर खानुपर्छ भनेर कार्यक्रम आयोजना गरेको बताइन् । दुःखसुख गीतमार्फत साटासाट गर्ने तिज पछिल्लो समय अर्काको देखासिखी गर्ने खर्चिलो तथा भड्किलो हुँदै गएको उनी बताउँछिन् ।
पछिल्ला दिनमा पैसा अनावश्यक खर्च गर्ने, महँगो साडी तथा अन्य सामग्री किनेर खर्चिलो हुने चलन बढ्दै गएको बताउदै वृद्ध सेवा केन्द्र्रकी अध्यक्ष डम्मर आचार्यले अरुको देखासिखी भन्दा मौलिक हिसाबले तिज मनाउनु पर्नेमा जोड दिएकी छन् ।
संवाददाता । मङ्गलबार, भदौ २६, २०८० मा प्रकाशित