दैलेख । दैलेखको दुल्लु नगरपालिकाको आयोजनामा आधारभुत तहको स्थानीय पाठ्यक्रम “हाम्रो संस्कृति : हाम्रो परम्परा” को प्रबोधिकरण तथा पाठ्यपुस्तक निर्माण कार्यशाला गोष्ठी सञ्चालन भएको छ । आज नगरपालिकामा उक्त गोष्ठी सञ्चालन भएको हो ।
आजबाट सुरु भएको यो कार्यक्रम भोलिसम्म सञ्चालन हुँनेछ । कार्यशाला गोष्ठीमा बोल्दै कार्यक्रमका प्रमुख अथिति कर्णाली प्रदेश सभा सामाजिक विकास समिति सभापति घनश्याम भण्डारीले संस्कार र संस्कृति बिनाको समुदायको कल्पना गर्न नसकिने भएकोले दुल्लुको जिवित संस्कृति बचाउन स्थानीय पाठ्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए । यस्तै प्रा.डा. मधुसूदन गिरीले नेपाली भाषा साहित्य, संस्कृति र इतिहासमा दुल्लुको महत्व र यसको संरक्षणमा स्थानीय पाठ्यक्रमको भूमिकाको बारेमा जानकारी दिएका थिए ।
कार्यक्रममा बोल्दै ओम रिजालले पाठ्यक्रमको महत्व र स्थानीय रुपमा पाठ्यक्रम लागू भएपछि देखिन सक्ने सम्भावित चुनौती र निराकरणको बारेमा साथै नारायण तिमिल्सेनाले पाठ्यक्रमको उद्देश्य, आवश्यकता र विषयवस्तुको विषयमा जानकारी दिएका थिए ।
कार्यक्रमका अध्यक्ष दुल्लु नगरपालिकाका उपप्रमुख बिना कार्कीले पालिकाले पाठ्यक्रम पूर्ण रुपमा लागू गर्ने र यसले हाम्रो गौरव, इतिहास, संस्कार र संस्कृति संरक्षणमा स्थानीय पाठ्यक्रमले महत्वपू्ण भूमिका खेल्ने बताइन् ।
उक्त कार्यक्रममा दुल्लु नगरपालिकाका ५४ आधारभूत विद्यालय र १४ माध्यामिक विद्यालयको सहभागिता रहेको थियो ।
संवाददाता । बिहिबार, पुष २६, २०८० मा प्रकाशित