सुर्खेत । सुर्खेत गुर्भाकोटकी समाजसेवी तिलोत्तमा गुरुङले विपन्न आर्थिक अवस्था भएकी भुमिसरा रोकालाई नयाँ घर बनाइदिएकी छन् । गुर्भाकोट १३ गुमीकी घरविहिन भुमिसरा रोकाको अवस्था दयनिय देखेपछि स्थानिय समाजसेवी तिलोत्तमा गुरुङले नयाँ घर बनाई दिएकी हुन् ।
शनिबार गुर्भाकोट १३ गुमीमा समाजसेवी तिलोत्तमाले नवनिर्मित भवन भुमिसरालाई घरको चावी दिएर हस्तान्तरण गरिकी छन् । ६ वर्ष अघि भुमीसराका श्रीमान् घर छोडेर वेपत्ता भए, उनी अहिले सम्म पनि सम्पर्कमा आएका छैनन् । श्रीमान्ले घर छोड्नु अघि नै देवरहरुसंगको अंश भागबन्डा भैसकेको कारण भुमिसराको जग्गा जमिन भएता पनि घरबास थिएन । उनले देवरको घरमा एउटा कोठामा छोरीसंग ६ वर्ष विताइन् । के खाने के लाउने चिन्ताले उसैगरी सताउँथ्यो ।
जग्गाजमिन भएतापनि कमाइ भने थिएन । अलिअलि खेति गरेर टर्थो । हातमा सीप नभएका कारण भुमिसराको जीवन यसरी नै गुज्रदै थियो । उनिले स्थानिय सरकारसंग आफ्नो घर बनाइदिन गुहारिन् तर स्थानिय सरकारले आश्वासन बाहेक केहि दिन सकेन ।
उनको यस्तो अवस्था देखेपछि गुर्भाकोट नगरपालिका वडा न १३ की तिलोत्तमा गुरुङको पहलमा ३ कोठे नयाँ घर निर्माण सम्पन्न भएको छ । घर निर्माणका लागि कुल ४ लाख ७१ हजार खर्च भएको समाजसेवी गुरुङले बताइन् । जसमध्ये विभिन्न सहयोगी व्यक्तिबाट २ लाख २३ हजार ६ सय १० रुपैयाँ सहयोग संकलन भएको थियो भने गुरुङको व्यक्तिगत २ लाख ४७ हजार ३ सय ९० रुपैँया खर्च भएको छ ।
एउटा कोठामा छोरीसंग दिनचर्या गर्दै आएकी भुमिसरा नयाँ घरमा बस्न पाउदा खुसी व्यक्त गरेकी छिन् । तिलोत्तमा गुरुङले आफुले सहारा विहिनको सहारा बन्न पाउदा मख्ख भएकी छिन् । उनि समाजसेवी मात्र नभएर शिक्षिका समेत हुन् । श्रीमान्को हौसला, साथ र अन्य सहयोगी मनहरुको आर्थिक, भौतिक र नैतिक सहयोगको कारण यो पुण्य काम गर्न सफल भएको बताउछिन् । आगामि दिनमा पनि यस्ता कामहरु गरेर पुण्य कमाउने गुरुङले प्रतिवद्धता गरेकी छन् ।
यस्तै, गुर्भाकोट नगरपालिका नगरप्रमुख हस्त पुनले सरकारले गर्ने काम नागरिकले गरेकोमा गुरुङ प्रति आभारी हुदै सामाजिक क्षेत्रमा ठुलो योगदान पुर्याएकोे चर्चा गरे ।
पुनले मुखभन्दा सेवा गर्ने हात धेरै पवित्र हुने भन्दै सामाजिक क्षेत्रमा गुरुङ दम्पतिको योगदानको खुलेर प्रशंसा गरे । आगामी दिनमा पनि निरन्तर सेवामा समर्पित भई समाजसेवामा सवैभन्दा उत्कृष्ट नमूना व्यक्तित्व बन्नका लागि आग्रह गरेका छन् ।
संवाददाता । शनिबार, माघ २७, २०८० मा प्रकाशित