दैलेख । दैलेखको दुल्लु नगरपालिका–१३ मा अवस्थित मालिका मन्दिर धार्मिक आस्था, सांस्कृतिक परम्परा र अनुपम प्राकृतिक दृश्यले भरिपूर्ण प्रमुख धार्मिक गन्तव्यका रूपमा परिचित बन्दै गएको छ। दुल्लुको सबैभन्दा उच्च स्थानमा रहेको यस मन्दिरमा वर्षेनि लाखौँ भक्तजन र पर्यटकको आगमन हुने गरेको छ।
स्थानीय विश्वासअनुसार मालिका माईको पूजा आराधनाले इच्छाएको पुरा हुने, सन्तानलाभ, सम्पत्ति आर्जन, खडेरीको समयमा वर्षा र अन्य मनोकामना पूरा हुने जनविश्वास छ। विशेष गरी जनै पूर्णिमाको दिन मालिका माईको पुजा गर्ने दिन मालिका मन्दिरमा गएर व्रत रहेर पुजाआजा गरेमा सन्तान नहुनले मलाई सन्तान दिनु भनेर वर मागेको खण्डमा सन्तान प्राप्ती हुने। यस्तै, सम्पती नहुनेले मलाई सम्पती दिनु भनेर वर मागेपछि सम्पती मिल्ने, अनाजपानी नहुनेले मलाई अनाज उत्पादन राम्रो होस् भनेर वर मागेपछि अनाज मिल्ने तथा पढाई र नोकरी राम्रो होस्, व्यावसाय सफल होस् भन्ने वर मागेर पुजाआरधना गरेमा पढाई, नोकरी तथा व्यावसायमा सफलता मिल्ने धार्मिक विश्वास रहेको छ। जसले यस स्थानलाई अझ बढी श्रद्धालुहरूको आकर्षण केन्द्र बनाएको छ।
- मालिका मन्दिर र यहाँबाट देखिने आसपासका क्षेत्रहरु। तस्बिर : भरत बन्धु थापा
मालिका मन्दिरमा वार्षिक रूपमा पाँचवटा प्रमुख मेला बैशाख संक्रान्ति, बैशाख औंसी, बैशाख पूर्णिमा, जेठ चण्डी पूर्णिमा र जनैपूर्णिमा धार्मिक मेलाहरु लाग्ने गर्दछन्। जनैपूर्णिमाको दिन शिरस्थानबाट मालिका माईलाई मन्दिरसम्म ल्याउने परम्परा यहाँको विशेष धार्मिक कार्यक्रम हो। यी अवसरहरूमा पूजा–आराधना, धार्मिक, सांस्कृतिक कार्यक्रम र सामुदायिक सहभागिता विशेषतः उल्लेखनीय रहन्छ।
मन्दिर क्षेत्रबाट दैलेखको करिब ८० प्रतिशत भू–भाग अवलोकन गर्न सकिन्छ। मौसम खुला हुँदा छिमेकी जिल्लाका मैदान र बर्दियासम्मका फाँट देख्न सकिने भएकाले यहाँको दृश्यावलोकन अनुभव नै फरक हुन्छ।
मालिका मन्दिर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट करिब ७० किलोमिटर दूरीमा पर्दछ। जसअन्तर्गत ५० किलोमिटर कालोपत्रे र अन्तिम २० किलोमिटर कच्ची बाटो पार गर्नुपर्छ। यहाँ पुग्ने सबैभन्दा छोटो मार्ग वीरेन्द्रनगर–गुराँसे–माथिल्लो ढुङ्गेश्वर–बैंक बजार हुँदै मालिका पुग्ने हो। माथिल्लो ढुङ्गेश्वरदेखि बैंक बजारसम्म सडक कालोपत्रेको काम भईरहेकोले पनि यहाँसम्म सहजै पुग्न सकिन्छ।
स्थानीय बासिन्दा र व्यापारीहरूले आवास, शौचालय र खानेपानीको अभाव, साथै यातायात मार्गको सुधार आवश्यक भएको बताएका छन्। पूर्वाधार विस्तार र सेवा सुविधा बढेमा धार्मिक तथा प्राकृतिक पर्यटनले स्थानीय अर्थतन्त्रमा ठूलो योगदान पुर्याउने उनीहरूको विश्वास छ।
मन्दिर क्षेत्रमा बढ्दो आगन्तुकतालाई मध्यनजर गर्दै प्रचारप्रसार, संरक्षण, स्थानीय उत्पादन प्रवर्द्धन र पर्यटन–सम्बन्धी साना उद्यम विकासका लागि स्थानीय तह र प्रदेश सरकारबीच समन्वय आवश्यक देखिन्छ। साथै पुरातात्विक उत्खनन् र संरचना निर्माण संवेदनशीलतापूर्वक गर्नुपर्ने सुझाव पनि स्थानीय अगुवाहरूले दिएका छन्।
धार्मिक आस्था, सांस्कृतिक परम्परा र प्राकृतिक सुन्दरता एकसाथ बोकेको मालिका मन्दिर, उपयुक्त पूर्वाधार र योजनाबद्ध विकासका साथ कर्णाली र पश्चिम नेपालको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने सम्भावना उच्च रहेको स्थानीय सरोकारवालाको भनाइ छ।
- तस्बिर : मालिका मन्दिरको पहिले र अहिलेको अवस्था ।









जगत सापकोटा । शुक्रबार, साउन २३, २०८२ मा प्रकाशित