Karnali Media
२०८३ असार १४ , आइतबार

कालिकोटमा दोस्रो बदालकोट खुल्ला खेलकुद प्रतियोगिता–२०८२ हुने



कालिकोट जिल्लाको श्री चुलीमालिका माध्यमिक विद्यालय, बदालकोटमा दोस्रो बदालकोट खुल्ला खेलकुद प्रतियोगिता–२०८२ हुने भएको छ। आगामी असोज १९ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न खेलकुद प्रतियोगिताहरू आयोजना गरिने जनाइएको छ।

प्रतियोगितामा फुटबल (६ जनाको साइड), भलिबल, डोरी तान्ने, श्रीमती बोक्ने दौड र लुंगी महिला फुटबल जस्ता रोचक खेलहरू समावेश गरिएका छन्।


यस प्रतियोगितामा विजयी खेलाडी तथा टिमलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। पुरुष फुटबलतर्फ पहिलो हुने टोलीलाई रु. १ लाख ३३ हजार, भलिबलतर्फ विजयी टिमलाई रु. ९९ हजार ९ सय ९९ प्रदान गरिने छ भने अन्य खेलहरूमा पनि आकर्षक पुरस्कार दिइने आयोजकले जानकारी दिएको छ।

आयोजक बादलकोट फुटबल क्लबका अनुसार प्रतियोगिताको उद्देश्य गाउँघरमै लुकेर रहेका प्रतिभालाई खोजी गर्ने र उनीहरूको क्षमता उजागर गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने हो। साथै खेलकुदमार्फत भाइचारा, मित्रता, एकता र अनुशासनको भावना जगाउँदै, युवालाई नशा, विकृति र कुसंस्कारबाट टाढा राखी सकारात्मक सोच, स्वास्थ्यप्रति सचेतना र आत्मविश्वास अभिवृद्धि गर्ने पनि प्रमुख लक्ष्य रहेको क्लबले जनाएको छ।

प्रकाशित मिति : २०८२ भदौ ८ गते आइतबार