सुर्खेत । कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा रविन्द्र चन्द्रलाई नियुक्त गरेको छ। चैत १२ गते बिहीबार बिहान ८ बजे बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।
प्रदेश सरकारका अनुसार वीरेन्द्रनगर नगरपालिका–७, सुर्खेत निवासी चन्द्रलाई परिषद्को सदस्य सचिवको जिम्मेवारी दिइएको हो। खेलकुद क्षेत्रको समग्र विकास, योजना निर्माण तथा कार्यान्वयनमा परिषद्को महत्वपूर्ण भूमिका रहने भएकाले नयाँ नेतृत्वले प्रभावकारी काम गर्ने अपेक्षा गरिएको छ।
यस्तै, सोही बैठकले परिषद्को उपाध्यक्षमा प्रमोद हमाललाई नियुक्त गरेको छ भने सदस्यहरुमा खाँडाचक्र नगरपालिका–७, कालीकोटका पंखबहादुर मल्ल, वीरेन्द्रनगर–३, सुर्खेतकी भीमकुमारी भुसाल, चंखेली गाउँपालिका–४, हुम्लाका गोर्खबहादुर शाही, दुल्लु नगरपालिका–८, दैलेखका पवनकुमार थापा, वीरेन्द्रनगर–४, सुर्खेतका किरणकिशोर सापकोटालाई समेत मनोनयन गरिएको जनाइएको छ।
लामो समयदेखि रिक्त रहेको खेलकुद विकास परिषद्ले पूर्णता दिने प्रदेश सरकारको यस निर्णयसँगै कर्णाली प्रदेशमा खेलकुद क्षेत्रको विकास, व्यवस्थापन र गतिविधिहरु थप व्यवस्थित र प्रभावकारी हुने विश्वास लिइएको छ।






संवाददाता । बिहिबार, चैत १२, २०८२ मा प्रकाशित