सुर्खेत। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सिता वादी ले कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा रहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको अनुगमन गर्नुभएको छ।
अनुगमनका क्रममा मन्त्री वादीले सेवा केन्द्रको भौतिक अवस्था, उपलब्ध स्रोत–साधन तथा सेवा प्रवाहको प्रभावकारिताबारे विस्तृत जानकारी लिनुभएको थियो। सेवा केन्द्रबाट प्रवाह भइरहेका सेवाहरू, सेवाग्राहीले भोगिरहेका समस्या, चुनौती तथा सुधारका सम्भावित पक्षबारे प्रहरी अधिकारी र सरोकारवालासँग अन्तरक्रिया समेत गरिएको थियो।
अन्तरक्रियाका क्रममा मन्त्री वादीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका समस्या संवेदनशील ढंगले सम्बोधन गर्नुपर्नेमा जोड दिँदै सेवा प्रवाहलाई अझ प्रभावकारी, सहज, पहुँचयोग्य र न्यायपूर्ण बनाउन निर्देशन दिनुभएको छ।
उहाँले पीडितमैत्री वातावरण निर्माण गर्दै सेवा केन्द्रलाई अझ व्यवस्थित र भरोसायोग्य बनाउन आवश्यक पहल गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभएको प्रहरीले जनाएको छ।






संवाददाता । शुक्रबार, बैशाख २५, २०८३ मा प्रकाशित