Karnali Media
२०८३ असार १४ , आइतबार

विद्युतीय माध्यमबाट जुवा खेलाउने तथा बैंक खाता दुरुपयोग गरी ठगी गर्ने ३ जना पक्राउ



सुर्खेत प्रहरीले विद्युतीय माध्यमबाट अनलाइन जुवा (Betting) खेलाउने, बैंक खाता दुरुपयोग गरी ठगी गर्ने तथा शंकास्पद आर्थिक कारोबारमा संलग्न रहेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार सामाजिक सञ्जाल तथा इन्टरनेट माध्यम प्रयोग गरी विभिन्न व्यक्तिहरूलाई प्रलोभनमा पारी हातजित हुने भन्दै अनलाइन जुवा तथा सट्टेबाजी खेलाउने उद्देश्यले बैंक खाता खोलिएको र ती खाताहरू दुरुपयोग गरी शंकास्पद कारोबार गरिएको गोप्य तथा प्राविधिक सूचनाका आधारमा अनुसन्धान गरिएको थियो।

प्रारम्भिक अनुसन्धानका क्रममा सुर्खेतको पञ्चपुरी नगरपालिका–९ निवासी ३९ वर्षीय शिक्षक महेन्द्र कुमार बोहराले विभिन्न बैंकमा ६ वटा खाता खोली ठगीजन्य कार्यमा प्रयोग गरेको र ती खाताबाट करिब २ करोड ४६ लाख रुपैयाँ बराबरको शंकास्पद कारोबार भएको खुलेको प्रहरीले जनाएको छ।

यस्तै, सोही स्थानका ४२ वर्षीय व्यवसायी यामलाल विकले विभिन्न बैंकमा ५ वटा खाता खोली दुरुपयोग गरी शंकास्पद कारोबार गरेको तथा ४४ वर्षीय होटल व्यवसायी डम्वरबहादुर विकले ९ वटा बैंक खाता प्रयोग गरी शंकास्पद कारोबार गरेको पाइएको प्रहरीले जनाएको छ।


उनीहरूलाई इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि बैंकिङ कसुर, जुवा तथा सट्टेबाजी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

प्रहरीले अनलाइन ठगी, जुवा तथा सट्टेबाजीमा संलग्न नहुन तथा सहयोग नगर्न आग्रह गर्दै आफ्नो बैंक खाता, पिन कोड, OTP लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

प्रकाशित मिति : २०८३ वैशाख ३० गते बुधबार