सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले ४ अर्बभन्दा बढीको बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि बुधबार १९ औँ नगर सभामा उपप्रमुख निलकण्ठ खनालले ४ अर्ब ७१ करोड २ लाख ७२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।
कुल बजेटमध्ये ६४ प्रतिशत हिस्सा अर्थात् ३ अर्ब २ करोड ७० लाख रुपैयाँ विकासतर्फ (पुँजीगत) विनियोजन गरिएको छ भने चालुतर्फ १ अर्ब ६८ करोड ३१ लाख विनियोजन गरिएको छ । जुन बजेट चालु आर्थिक वर्षको तुलनामा ३२ करोड ७५ लाख रुपैयाँले बढी हो ।
चालु आर्थिक वर्षका लागि ४ अर्ब ३८ करोडको बजेट ल्याइएको थियो ।बजेटको स्रोतमा संघीय वित्तीय समानीकरण अनुदानबाट २४ करोड ६० लाख, संघीय सशर्त अनुदानबाट २ अर्ब ६७ करोड ९६ लाख, संघीय राजस्व बाँडफाँट २१ करोड ३६ लाख ४७ हजार, प्रदेश सरकार वित्तीय समानीकरण अनुदानबाट ३ करोड ५३ लाख ३५ हजार, प्रदेश सशर्त अनुदानबाट ५० करोड ३५ लाख ७२ हजार र प्रदेश राजस्व बाँडफाँट ४४ लाख ११ हजार रुपैयाँ रहेको छ ।
यस्तै, संघीय तथा प्रदेशको समपुरक विशेष अनुदान ४ करोड ५९ लाख, स्थानीय राजस्व बाँडफाँट १८ करोड तथा नगरपालिकाको आन्तरिक आयबाट ३३ करोड ६ लाख ६५ हजार रुपैयाँ खर्च बेहोर्ने स्रोतमा राखिएको छ ।
चालु आर्थिक वर्षको बचत रकमबाट ३ करोड ९३ लाख ५७ हजार र सामाजिक सुरक्षा अनुदानबाट ३४ करोड खर्च बेहोरिने जनाइएको छ । आगामी बजेट शीर्षकगत कार्यक्रमअन्तर्गत सामाजिक सुरक्षा कार्यक्रमका लागि ३४ करोड, खानेपानी सुशासन तथा पूर्वाधार प्रवर्द्धन कार्यक्रम म्याचिङ फण्ड भेरी पम्पिङ आयोजना सञ्चालन व्यवस्थापन एवं सहकार्यका लागि १८ करोड, वडास्तरीय योजना तथा कार्यक्रमका लागि १६ करोड ६७ लाख र विभिन्न शाखा नगरस्तरीय आयोजना कार्यक्रम सञ्चालनका लागि १४ करोड ५० लाख विनियोजन गरिएको खनालले बताए ।
त्यसअघि नगरसभामा नगरप्रमुख मोहनमाया ढकालले नीति तथा कार्यक्रम प्रस्तुत गरिन् । प्रस्तुत निति तथा कार्यक्रममा उपमहानगरपालिका घोषणा, सीप र क्षमताका लागि ‘नलेज ब्याङ्क’, शैक्षिक सुधार वर्ष र एआई शिक्षा, डिजिटल शिक्षक बैंक, २ करोडको छात्रवृत्ति कोष, कृषि उद्यमीलाई थप अनुदान, जग्गा बाँझो राख्न नपाइने, स्टार्टअप, इन्क्युबेसन र कर छुट, विशेष पर्यटकीय क्षेत्र र डिजिटल एप, गर्भवतीलाई निःशुल्क सेवा,मानसिक स्वास्थ्यका लागि ‘मनको चौतारी’ , सडक बालबालिकामुक्त नगर, एकीकृत नगर बस र आकाशे पुल, छोरी बचत खातामा थप रकमलगायतका कार्यक्रम प्राथमिकतामा राखिएको बताएकी थिइन् ।




