सुर्खेत । सुर्खेतमा गरिएको नमूना मतदानमा एक तिहाइ मत रद्ध भएको छ । प्रदेश निर्वाचन कार्यालयले शुक्रबार वीरेन्द्रनगरमा आयोजना गरेको नमूना मतदानमा एक तिहाइ मत रद्ध भएको हो ।
३६ जनाले मतदान गरेकोमा १३ मत रद्ध भएको छ । दुई मत पूर्ण तथा दश मत आंशिक रुपमा रद्ध भएको प्रदेश निर्वाचन अधिकारी दुर्गा प्रसाद चालिसेले जानकारी दिनुभयो । मतदातालाई मतदानमा उत्साहित गराउन तथा मतदान बारे कत्तिको जानकार छन्न भन्ने उद्देश्यले आयोगको कार्यक्रम अनुसार नमूना मतदान गरिएको चालिसेले बताउनुभयो । निर्वाचन आयोगले विगतका बर्षहरुमा घर दैलो कार्यक्रम गरेर मतदाता शिक्षा दिने गरेकोमा यस पटक भने घरदैलो कार्यक्रम राखेको छैन् ।
नमूना मतदानलाई आधार मान्ने हो भने दलहरुबीचको गठबन्धन तथा मतदाता शिक्षाको कमीले रद्ध मत बढ्ने संभावना देखिएको छ । नमूना मतदानको नतिजा हेर्दा पनि मतदाता शिक्षाको अभाव हुने संकेत देखिएको प्रदेश निर्वाचन अधिकारी चालिसेको भनाइ छ । वीरेन्द्रनगर ७ मा रहेको संस्कृत तथा साधारण माविमा गरिएको नमूना मतदानको प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालसहित सुरक्षा निकायका प्रमुखहरुले अवलोकन गर्नुभएको थियो ।
संवाददाता । शनिबार, बैशाख २४, २०७९ मा प्रकाशित