सुर्खेत । सुर्खेतमा युवा र खुला संसदबीचको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । संसदीय मामिला पत्रकार समाज सुर्खेतको आयोजना तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) अन्तर्गतको संसद सहयोग परियोजनाको सहकार्यमा ‘युवा र खुला संसद’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
सोमबार सुर्खेतस्थित मोडल कलेजमा आयोजित कार्यक्रममा करिब १९० जना विद्यार्थीको सहभागिता रहेको थियो । कार्यक्रममा संसद कसरी सञ्चालन हुन्छ, कानून निर्माणको प्रक्रिया, ऐन तथा नियम कसरी निर्माण हुन्छन ? संसदीय समितिहरूको भूमिका तथा निर्वाचित जनप्रतिनिधि अर्थात् माननीयहरूको जिम्मेवारी र कार्यसम्पादनका विषयमा विद्यार्थीहरूसँग अन्तरक्रिया गरिएको थियो ।
कार्यक्रममा कर्णाली प्रदेशका पूर्वअर्थमन्त्री तथा पूर्वप्रदेशसभा सदस्य वेदराज सिंह, लोकतन्त्रका अधिकारकर्मी कमल लम्सार र कर्णाली प्रदेशसभा सचिवालयका अधिकृत राजेन्द्र पौडेल वक्ताका रूपमा सहभागी भएका थिए । अन्तरक्रियाका क्रममा विद्यार्थीहरूले संसदको कार्यसञ्चालनदेखि कानून निर्माणसम्मका विषयमा विभिन्न जिज्ञासा राखेका थिए ।
विद्यार्थीहरूले विधेयक कसरी तयार हुन्छ, संसदमा कसरी पेश हुन्छ, छलफल तथा पारित गर्ने प्रक्रिया के हो, ऐन तथा नियम निर्माणमा सांसद र संसदीय समितिहरूको भूमिका कस्तो हुन्छ भन्ने विषयमा प्रश्न गरेका थिए । त्यस्तै, संसदीय समितिहरूले गर्ने काम, समितिले सरकारका कामकारबाहीमाथि कसरी निगरानी गर्छ, सांसद तथा माननीयहरूको मुख्य जिम्मेवारी के–के हुन्छ र उनीहरूले जनताका सवाल तथा समस्यालाई संसदमा कसरी उठाउँछन् भन्ने विषयमा समेत विद्यार्थीहरूले जिज्ञासा राखेका थिए ।
कार्यक्रममा वक्ताहरूले संसद कानून निर्माण गर्ने थलो मात्र नभई जनताको आवाज उठाउने, सरकारलाई जवाफदेही बनाउने र लोकतान्त्रिक शासन प्रणालीलाई संस्थागत गर्ने महत्वपूर्ण जनप्रतिनिधिमूलक संस्था भएको बताएका थिए । संसदका गतिविधि र कानून निर्माण प्रक्रियाबारे युवाहरूलाई जानकारी गराउँदै उनीहरूलाई लोकतान्त्रिक अभ्यासमा सक्रिय रूपमा सहभागी गराउन आवश्यक रहेकोमा वक्ताहरूले जोड दिएका थिए । युवाहरू नयाँ सोच, प्रविधि, सिर्जनशीलता र नेतृत्व क्षमताले भरिपूर्ण भएकाले लोकतान्त्रिक संस्थालाई थप प्रभावकारी, पारदर्शी र जवाफदेही बनाउन उनीहरूको अर्थपूर्ण सहभागिता आवश्यक रहेको वक्ताहरूको भनाइ थियो।
कार्यक्रमको उद्देश्य संसद र युवाबीचको दूरी घटाउनुका साथै संसदीय गतिविधि, कानून निर्माण प्रक्रिया र लोकतान्त्रिक अभ्यासबारे युवालाई जानकारी गराउँदै उनीहरूलाई लोकतान्त्रिक प्रक्रियामा सक्रिय सहभागिताका लागि प्रेरित गर्नु रहेको आयोजकले जनाएको छ।










