सुर्खेत । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको आयोजना तथा ट्रष्ट एजुकेशनल सेन्टर वीरेन्द्रनगरको सहयोगमा जिम्मेवार चालकहरूलाई सेफ्टी ज्याकेट वितरण तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार जिल्ला समन्वय समिति सुर्खेतको सभाहलमा वीरेन्द्रनगरमा अटो सञ्चालन गर्दै आएका करिब १३० जना अटो चालकहरूको सहभागिता रहेको उक्त कार्यक्रममा चालकहरूलाई सेफ्टी ज्याकेट वितरण गरिनुका साथै सडक सुरक्षासम्बन्धी सचेतना प्रदान गरिएको थियो ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक रोहित कुमार शाही, ट्रष्ट एजुकेशनल सेन्टरका सञ्चालक हरि कँडेल, सेन्टरमा अध्ययनरत विद्यार्थीहरू, सञ्चारकर्मी तथा सुरक्षा निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै ट्राफिक प्रमुख रोहित कुमार शाहीले सेफ्टी ज्याकेट प्राप्त गरेपछि चालकहरूले अझ बढी जिम्मेवार बनेर सुरक्षित रूपमा सवारी सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले सडक दुर्घटना न्यूनीकरणका लागि चालकहरू स्वयं सचेत हुनुपर्ने बताए ।
त्यसैगरी ट्रष्ट एजुकेशनल सेन्टरका सञ्चालक हरि कँडेलले विगत १५ वर्षअघि उच्च शिक्षा र रोजगारीका लागि सुर्खेत प्रवेश गर्दाका आफ्ना संघर्षका दिनहरू स्मरण गरे । १२ वर्षअघि स्थापित सेन्टरमार्फत भाषा शिक्षण र विभिन्न लोकसेवा तथा सुरक्षा निकायको तयारी कक्षा सञ्चालन गरी हालसम्म १० हजारभन्दा बढी विद्यार्थीहरूसँग जोडिन पाएकोमा खुसी व्यक्त गरे ।
सडकमा अटो चालक र ट्राफिक प्रहरी विरोधी नभई एकअर्काका सहयात्री भएको उल्लेख गर्दै कँडेलले भने, धुलो, हिलो र खाल्डाखुल्डी युक्त सडकमा चालकको भरमा सिङ्गो परिवारको सपना जोडिएको हुन्छ । पहेँलो ज्याकेटले विशेष गरी रातिको समयमा दुर्घटनाबाट बचाउन मद्दत गर्छ । चालक सुरक्षित भए मात्र यात्रु सुरक्षित हुन्छन् ।
सोही अवसरमा कँडेलले अटो चालक र तिनका परिवारका सदस्यहरूलाई ट्रस्ट एजुकेसन सेन्टरबाट सञ्चालन हुने वैदेशिक भाषा तथा अन्य तयारी कक्षाहरूमा २० देखि ५० प्रतिशतसम्म विशेष छुट दिने घोषणासमेत गरे । सीमित स्रोत र साधनका बाबजुद सुर्खेतको ट्राफिक व्यवस्थापनमा खटिने प्रहरी टोली र प्रमुख शाहीको नेतृत्वको प्रशंसा गर्दै कँडेलले नागरिक स्तरबाट पनि ट्राफिक प्रहरीको योगदानको कदर हुनुपर्ने धारणा राखे ।
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व प्रति प्रतिबद्ध रहँदै ट्रष्ट एजुकेशनल सेन्टरले सुरुदेखि नै यस्ता समाज उपयोगी, शैक्षिक तथा सचेतनामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको छ।












