सुर्खेत । शुक्रबार देशैभर स्थानीय तहको निर्वाचन अन्तर्गत मतदान सम्पन्न भएको छ । यसै क्रममा कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेत जिल्लाका सबैजसो स्थानमा मतदान शान्तिपूर्ण तरिकाले भएको निर्वाचन अधिकारीहरुले बताएका छन् ।
निर्वाचन कार्यालयका प्रमुख दुर्गाप्रसाद चालिसेले सुर्खेतका कुनै पनि ठाउँमा मतदान बिथोल्ने, झडप हुने कार्य भएका छैनन् । यद्यपि कर्णालीका केही जिल्लाका ग्रामीण क्षेत्रमा भने तनावपूर्ण अवस्था रह्यो । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीको गृहजिल्ला हुम्लामा प्रहरीले गोली चलाउनुपर्ने स्थिति निम्तियो । जिल्लाको चङ्खेली गाउँपालिका–२ मा रहेको महादेव माध्यमिक विद्यालयमा रहेको मतदानस्थलमा बिहान आठबजेतिर झडप भएको थियो । एक समूहले प्रहरीमाथि नै ढुंगामुढा गर्न थालेपछि प्रहरीले ७ राउण्ड गोली चलाएको थियो ।
स्थानीयको ढुंगामुढाबाट मतदान अधिकृत कृष्णप्रसाद आचार्य र कार्यालय सहयोगी समेत घाइते भएका छन् । झडपले उग्र रुप लिने देखिएपछि केही समयका लागि मतदान प्रक्रिया स्थगित गर्नुपरेको हुम्लाका प्रमुख जिल्ला अधिकारी सीता परियारले रातोपाटीलाई जानकारी दिइन् । घाइते निर्वाचन अधिकृत आचार्यको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
हुम्लाकै खार्पुनाथ गाउँपालिका–१ को मालिका माविको मतदान स्थलमा गठबन्धन र एमाले कार्यकर्ताबीच झडप हुँदा १० जना घाइते भएका छन् । त्यहाँ मतदान गर्दा सहयोगी राख्ने विषयमा विवाद भएको थियो । हुम्लामा स्थिति नियन्त्रण बाहिर जाने भएपछि सुर्खेतबाट नेपाली सेनाको टोलीलाई हेलिकप्टरबाट पठाइएको थियो ।
कालिकोटको पचालझरना गाउँपालिका–१ को खयरकोटको एक मतदान केन्द्रमा पनि विवाद हुँदा मतदान प्रक्रिया स्थगित भएको थियो । कालिका माध्यमिक मतदान केन्द्रमा माओवादी केन्द्र र काँग्रेसका कार्यकर्ताबीच विवाद भएको थियो । ५८८ मतमध्ये ३१६ मत खसेपछि विवाद भएको मतदान अधिकृत रचना गुरुङले जानकारी दिइन् ।
काकिलोटकै तिलागुफाको मालिका माध्यमिक विद्यालयको मतदान केन्द्रमा शंकास्पद बस्तु फेला परेको थियो । त्यहाँ केही समय मतदाता त्रसित बनेको भए पनि केही समयभित्रै सेनाले डिस्पोज गरेको कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद प्याकुरेलले जानकारी दिए ।
संवाददाता । शुक्रबार, बैशाख ३०, २०७९ मा प्रकाशित