सुर्खेत । संघीय सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा यो पटक कर्णालीका धेरै योजना समेटिएका छन् । केही पुराना योजनालाई निरन्तरता दिइएको छ भने केही नयाँ योजना छन् । विशेषगरी कर्णालीको कृषि, स्वास्थ्य, पर्यटन र पूर्वाधार क्षेत्रलाई समेटेर बजेट आएको कर्णालीका सरोकारवालाहरूले बताउने गरेका छन् ।
कर्णालीमा रैथाने बालीको संरक्षण गरी कृषिलाई आधुनिकीकरण गर्ने विषयलाई बजेटले समेटेको छ भने कर्णालीका हिमाली जिल्लामा स्याउ उत्पादनकर्ता किसानलाई अनुदानको व्यवस्था, सुर्खेतमा जडिबुटी प्रशोधन केन्द्र स्थापना गर्ने विषय पनि बजेटमा उल्लेख छ ।
कर्णाली समृद्धि कार्यक्रमअन्तर्गत जुम्लाको सिंजा उपत्यकामा एकीकृत विकास कार्यक्रम, सुर्खेत र जाजरकोटमा रहेको किम्मती तथा अर्धकिम्मती पत्थर उद्योग सञ्चालन एवं निर्माण गर्ने, कर्णालीको पर्यटन क्षेत्रको विकासका लागि विभिन्न योजना बजेटमा उल्लेख छन् । मुगुको पर्यटकीय क्षेत्रको विकासका लागि बजेट छुट्याइएको छ भने रारा, से–फोक्सुण्डो लगायतका पर्यटकीय क्षेत्रलाई विकास गर्ने योजना सरकारले बजेटमा समेटेको छ ।
यस्तै, सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिकाको रामघाटमा प्रादेशिक विमानस्थलको काम अगाडि बढाइने, कर्णाली राजमार्ग अन्तर्गत दैलेखको राकम कर्णालीमा ट्रमा सेन्टर स्थापना गर्ने, सुर्खेत मेडिकल कलेज स्थापना, प्रदेश अस्पताललाई पनि मेडिकल कलेजका रुपमा विकास गर्ने योजना बजेटमा छन् ।
सुर्खेतको सुभाघाट वृहत खानेपानी आयोजना आगामी आर्थिक वर्षमै सम्पन्न गर्ने, प्रदेश अस्पताललाई डायलासिस मेसिन खरिद गर्न २० करोड रकम विनियोजन, जुम्लाको टोप्ला पाटनमा हाइअल्टिच्युट ट्रेनिङ सेन्टर स्थापना गर्ने, हुम्ला जिल्लालाई आगामी आर्थिक वर्षमा राष्ट्रिय सडक सञ्जालमा जोड्ने, दुई ठाउँमा सुरुङमार्ग र डोल्पाको डोल्पोबुद्ध र हुम्लाको लिमीलाई हिमाली सहरका रुपमा विकास गर्ने योजना बजेटमा परेको छ ।
संवाददाता । शुक्रबार, जेठ २०, २०७९ मा प्रकाशित