१० असार, दैलेख – दैलेखको दुल्लु नगरपालिकाले आगामी आर्थिक बर्ष ०७९–८० का लागि १ अर्ब ८ करोड ४० लाख रुपैंया बराबरको बजेट ल्याएको छ ।
जसमध्ये पुँजीगत तर्फ १५ करोड ४५ लाख २० हजार र चालु तर्फ ९२ करोड ९४ लाख ८० हजार विनियोजन गरिएको छ ।
नगर उपप्रमुख बिना कार्कीले ११ औं नगरसभामा उक्त बजेट प्रस्तुत गरेकी हुन् । दुल्लु नगरपालिकाले “समृद्ध र आत्मनिर्भर दुल्लूको परिकल्पना सहित दुल्लू नगरपालिकाको पहिचान, ऐतिहासिक, पुरातात्विक सम्पदाको संरक्षण र विकास हाम्रो अभियान” भन्ने मूल नारा अघि सारेको छ ।
आगामी आ.व. २०७९-०८० को नीति तथा कार्यक्रमहरु
सोच :
उपलव्ध स्रोतको प्रभावकारी परिचालन मार्फत समृद्ध दुल्लूको निर्माण गर्ने
लक्ष्य :
– कृषि, पर्यटन, पूर्वाधार विकास लगायत नागरिकहरुमा प्रत्यक्ष रोजगारी श्रृजना गर्ने कार्यक्रम तर्जुमा गरी आर्थिक सामाजिक रुपान्तरणका माध्यमवाट जनताको जीवनस्तर सुधार ल्याउने ।
-दुल्लू नगरपालिकाका धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्र पहिचान गरी धार्मिक पर्यटन प्रवर्द्धन गर्ने
उद्देश्य :
-महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) बाट प्रभावित नागरिकहरुको सहज जिवनयापनका लागि रोजगारीमुलक कार्यक्रमहरु संचालन गर्ने ,
-आर्थिक, सामाजिक, पूर्वाधार, वातावरण तथा विपद् व्यवस्थापन लगायतका क्षेत्रगत योजनाको निर्माण कार्यमा नागरिकहरुलाई प्रत्यक्ष रुपमा रोजगारी प्राप्त गर्ने गरी अन्तरसम्वन्धित गराई दिगो विकासका संरचनाहरु निर्माण गर्ने ,
-नागरिकहरुको मौलिक अधिकारको रुपमा रहेको स्वास्थ्य तथा शिक्षा क्षेत्रमा उल्लेख्य उपलव्धी हासिल गर्न संस्थागत विकास लगायत जनशक्ति विकास र क्षमता विकास हुने खालका कार्यक्रमहरु तर्जुमा गर्ने,
-व्यावसायीक कृषि खेति र पशुपालन गर्न कृषकहरुलाई प्रोत्साहन गर्न कृषकमैत्री कार्यक्रमहरुको निर्माण गरी आयत प्रतिस्थापन र निर्यात व्यवस्थापन कार्यमा जोड दिने,
-नगरपालिका क्षेत्रमा रहेका धार्मिक एवं सांस्कृतिक पर्यटकीय क्षेत्रको विकास, प्रवर्द्धन र प्रचार प्रसार गरी आन्तरिक तथा वाह्य पर्यटनलाई प्रवर्द्धन गर्ने
-लक्षित वर्ग समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक सशक्तीकरण गरी समावेशी एवं समन्यायिक विकासको माध्यमवाट रोजगारीको अवसर श्रृजना गर्ने,
-विभिन्न तहका सरकारहरु तथा विभिन्न विकास साझेदारहरुसँगको साझेदारीमा नगरपालिकाका ठूला पूर्वाधार विकासमा जोड दिने,
-सार्वजनिक श्रोतको प्रभावकारी परिचालन गरी प्राथमिकरण लगानी, आर्थिक अनुशासन, नविन प्रविधिको उपयोग र प्रशासनिक सुधार गरी सुरक्षा र सुशासन कायम गर्ने ।
अपेक्षित उपलव्धीहरु
– विषय क्षेत्रगत योजना कार्यक्रम तथा नीतिको कार्यान्वयनवाट त्यस क्षेत्रमा क्रमशः सुधार आई अनुभुति गर्न सक्ने गरी दुल्लूवासीको जिवनस्तर तथा जिवनशैलीमा सुधार आएको हुनेछ ।
वार्षिक वजेट तथा कार्यक्रम तर्जुमा गर्दा अवलम्वन गरिएका प्रमुख नीति आधारहरु
१) नेपालको संविधान
२) १५ औ योजना
२) स्थानीय सरकार संचालन ऐन, २०७४
३) राष्टिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४
४) अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४,
५) संघ र प्रदेश सरकारले अवलम्वन गरेका नीतिहरु
६) स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन, २०७८
७) उपलव्ध स्रोत साधन आदी
संवाददाता । शुक्रबार, असार १०, २०७९ मा प्रकाशित