१५ साउन, दैलेख । हिलाम्मे सडकले यति बेला दुल्लु नगरपालिकालाइ जिस्काई रहेको छ । वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे सडक दुल्लु नगरपालिकाको पहिचान जस्तै बनिसकेको छ ।
पटक–पटक सामाजिक संजालमा यसै सडकका कारण दुल्लु आलोचित बनेको पाईन्छ । लामो समयदेखि प्रदेश र संघ सरकारले सडक निमार्णमा बजेट विनियोजन गरेर काम गर्दै आएपनि त्यस बजेटले दुल्लु नगरपालिकाको मुटु चाँदनी चौकको समेत मुहार फेर्न नसक्दा दुल्लुको सडकमा लगानि बालुवामा पानी हालेको जस्तै बन्दै आएको छ ।
अहिले पनि दुल्लु नगरपालिकामा प्रदेश सरकारले भौतिक पूर्वाधार कार्यालय दैलेख मार्फत सडक निर्माणको काम गरिरहेको छ । बहुबर्षिय ठेक्का १५ करोड ५८ लाखमा दुल्लु क्षेत्रमा पिच समेत गर्नेगरी ठेक्का भएको छ जसको अवधि २०८० सालसम्म रहेको छ भने, अर्को क्रमागत तर्फ ४ करोड २९ लाखमा दुल्लु बजार क्षेत्रमा ग्राभेल गर्ने गरी सझौता भएको थियो ।
जसको अबधी सकिदा पनि दुल्लु क्षेत्रको सडकमा गुणस्तरिय ग्राभेल समेत हुन सकेको छैन । पहिलेको स्थानिय सरकारले सहयोग नगर्दा समयमै गुणस्तरिय काम हुन नसकेको र काममा विभिन्न समस्याहरु आएको प्रदेश सभाका सांसद सुसिल थापा बताउछन् ।दुल्लुको मुख्य मेरुदण्ड मानिने सडकमा प्रदेश सरकारबाट बजेट बिनियोजन भई काम भैरहेको भएपनि काममा राजनितीकरण गरिदा यस्तो समस्या आएको र दुल्लुबासि अझैपनि वर्षामा हिलो र हिउँदमा धुलाम्मे सडकको यात्रा गर्न बाध्य भएको सांसद थापाको भनाई छ ।
दुल्लु नगरपालिकाका मेयर भरत रिजालका अनुसार आर्थिक बर्ष २०७८ / ७९ मा जिल्ला पूर्वाधारबाट टेण्डर भएर ठेक्केदारले काम गरिरहेको छ । तर पनि काम गुणस्तरिय नभएकोले नगरपालिकाले पूर्वाधारको हाकिम र ईन्जिनियरलाई दुल्लु बोलाएर काम गुणस्तरिय भएको छैन्, बालुवा र माटो मात्र हालेर काम भैरहेको छ, यसको गुणस्तर हेर्दिनु पर्यो भनेर बारम्बार भन्दा पनि जिल्ला पूर्वाधारले व्यवास्ता गरेको रिजाल बताउछन् ।
यसरी असार १५ सम्म पनि कामको गुणस्तरमा ध्यान नदिदा र माटो हालिएको सडकमा पनि रोलर लगाएर सम्याउने समेत काम नभए पछि नगरपालिका पहल गरेपछि केहि टालटुल गरेर सम्याएको भएपनि काममा गुणस्तर नभएकोले वर्षातको समयमा सडकमा हिलोले पहिलेभन्दा पनि खतम अवस्था भएको छ ।
मेयर रिजाल भन्छन्, `यसको गुणस्तर हेर्न सडक गुणस्तरिय नबन्नुमा पूर्वाधार बिकास कार्यालय दैलेखको चरम लापरवाही रहेको छ । प्रदेश सरकारको बजेटमा काम भैरहेको र पालिकाले केहि गर्न नसक्ने भएकोले सडक यस्तो भैरहेको हो।´
नयाँ जनप्रतिनिधी र नयाँ आर्थिक बर्ष सुरु भएको साथै खोलाबाट गिट्टि बालुवा निकासिका लागि जिल्ला समन्वय समितीले रोक लगाएकोले नगरपालिकाले केहि हिलाम्मे भएको ठाँउमा गिट्टि बालुवा पनि हाल्न नसक्ने अवस्था रहेको छ । यसबारेमा नियमित छलफलमा रहेको र दुल्लु बजार क्षेत्रमा ग्राभेल गरिरहेको ठेकेदार कम्पनिले भने काम गरेको भुक्तानी नपाएको गुनासो गरेको छ । काममा पूर्वाधार विकास कार्यालय दैलेखले लापरवाही गरेको तर दुल्लु नगरपालिकालाई सामाजिक संजालमा आलोचना गर्नु गलत भएको पनि रिजालको भनाइ छ ।
भौतिक पूर्वाधार बिकास कार्यालय दैलेख के भन्छ ?
यता, भौतिक पूर्वाधार विकास कार्यालय दैलेखले भने काममा आफुहरुले लापरवाही नगरेको बताएको छ । यो असारमा नै म्याद समाप्त भएको दुल्लु क्षेत्रमा ग्राभेल गर्न भएको क्रमागत ठेक्काको पनि म्याद थपको प्रक्रिया अघि बढेको भौतिक पूर्वाधार कार्यालय दैलेखका लेखा अधिकृत मान बहादुर सुनारले कर्णाली मिडियालाई बताए ।
उनले भने पैसा भुक्तानी नभएको बिषयमा असार २४/२५ गतेबाट नै सर्बरमा समस्या आएको, कामको रिर्पोट ल्याउने देखि भुक्तानी प्रक्रिया र अन्य कामको लागि जनशक्ति पनि अभाव भएकोले भुक्तानी हुन नसकेको र भुक्तानीको प्रक्रिया अगाडि बढेको छ ।
यस्तै काममा गुणस्तर नभएको भन्ने बिषयमा बर्षा चलिरहेको ग्राभेल भएको बेला नै पानी पर्दा गिट्टि सबैमुनी जाने र माटो मात्र माथी रहने भएकोले यो समस्या आएको उनि बताउँछन् ।
पूर्वाधार कार्यालयले निमार्ण कम्पनीसँग सहकार्य गर्ने, गुणस्तरिय काम गर्ने र छिटो भन्दा छिटो काम समापन गर्न सधै लागिपरेको भौतिक पूर्वाधार कार्यालयले जानकारी दिएको छ ।
दुल्लु सडकको मुहारयो तस्वीर हिजोको हो, जुन दुल्लु नगरपालिकाको सवारी साधन दुल्लुको हिलाम्मे सडकमा फसेको छ । यो दृश्यले सामाजिक संजाल तताएको छ ।
यसैका कारण दुल्लुका केहि जनप्रतिनिधी र कर्मचारीबीच सामाजिक संजालमा जुहारी पनि चलेको थियो । यो त प्रतिनिधी घटना मात्र हुन यो संगै दुल्लु नगरपालिका मुख्य सडक खण्डमा हिलो र धुलोमा फसेका सवारी साधन र स्थानियको बिचल्लि भएका दुश्यहरु छ्यापछ्याप्ति भेटिन्छन् सामाजिक संजालमा हेर्दा दुल्लु हिलो र धुलोको संज्ञामा भेटिने दुल्लुका स्थानिय बताउँछन् ।
राजनितीक रुपमा दुल्लुको सडक विस्तारलाई लिदा र अन्य विविध समस्याले प्राचिन दुल्लुले आफ्नो मुहार फेर्न पाएको छैन्।
यद्यपि यो सडक प्रदेश सरकारले बनाईरहेको भएपनि यसै सडका कारण पूर्व नगरप्रमुख घनश्याम भण्डारीलाई पनि आफ्नो कार्यकालमा ठुलो आलोचनाको सामना गर्नु परेको थियो ।
संघ प्रदेश र स्थानिय तहबिचको समन्वयको अभाव यस्ता धेरै योजनाले गति लिन सकेका छैनन् ।
संवाददाता । आइतबार, साउन १५, २०७९ मा प्रकाशित