२० साउन, सुर्खेत । सरकारले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन एकै दिन एकै चरणमा गर्नेगरी ४ मंसिरका लागि मिति तोकेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले आगामी ४ मंसिरमा १ सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३ सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा चुनाव मिति तोकेको हो ।
निर्वाचन आयोगले भने २ मंसिरमा निर्वाचन गर्नेगरी सरकारसमक्ष मिति प्रस्ताव गरेको थियो । आयोगले प्रस्ताव गरेको २८औं दिन बिहीबार सरकारले मिति तोकेको हो । निर्वाचन आयोग ऐन, २०७३ तथा निर्वाचनसम्बन्धी कानुनले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन मिति आयोगको परामर्शमा नेपाल सरकारले तोक्ने व्यवस्था गरेको छ ।
पछिल्लो पटक स्थानीय तह निर्वाचनपछि १ असारबाट सुरु नामावली दर्ताक्रममा बिहीबार दिउँसोसम्म देशभर ४ लाख ४८ हजार ५ सय १६ नयाँ मतदाता थप भएका छन् । भने बिहीबार दिउँसोसम्म कर्णाली प्रदेशमा १८ हजार ६ सय ८६ नयाँ मतदाता थपिएका छन् ।
आयोगका अनुसार गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनअघि आयोगमा कुल १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताको नाम दर्ता छ । जसमध्ये ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५ सय ३० महिला र १ सय ८३ अन्य मतदाता छन् ।
संवाददाता । शुक्रबार, साउन २०, २०७९ मा प्रकाशित