साउन २२, सुर्खेत । पछिल्लो समय अस्पतालहरुमा ‘सिजनल फ्लु’का बिरामीको सङ्ख्या बढ्दै गएको छ । सिजनल फ्लुका कारण ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, थकाइ लाग्ने, घाँटी खसखसाउने वा दुख्ने जस्ता समस्या लिएर अस्पताल आउने बिरामीको चाप बढ्दै गएको कर्णाली प्रदेश अस्पताल सुर्खेतले जानकारी दिएको छ ।
कोरोना भाइरस जस्तै इन्फ्लुएन्जा भाइरसका विभिन्न प्रजातीहरुले ‘सिजनल फ्लु’ बनाउने कर्णाली प्रदेश अस्पतालमा कार्यरत जनरल फिजिसियन डा. के एन पौडेलले जानकारी दिए ।
‘यो पनि स्वासप्रश्वासबाट सर्छ,’ उनले भने, ‘एकजना रुघा लागेको व्यक्ति छ भने सँगै बसेको अर्कोलाई यो कोभिड जस्तै सर्छ,’ । अहिले दैनिक जसो प्रदेश अस्पतालमा डेढ दुई सयको हाराहारीमा र प्राइभेड क्लिनिकहरुमा यस्तो लक्षण भएका बिरामी उपचारका लागी आउने गरेको पनि डा.पौडेलले जानकारी दिए ।
‘सिजनल फ्लु’का बिरामीहरु मध्यपनि बृद्धबृद्धा, दिर्घरोगी र बालबालिकाहरु जसमा अरु रोग भएकाहरुलाई भने मृत्यु हुने जोखिम भएपनि एकबाट अर्कालाई सर्ने र मृत्युदर कोभिडको भन्दा कमहुने डा.पौडेलको भनाई छ ।
कोरोना संग मिल्दोजुल्दो लक्षण भएकाले पनि मौसमी रुघाखोकी र कोभिड मध्य के भएको भनेर छुट्याउन नागरिकलाई समस्या भएको छ ।
पछिल्लो केहिदिन यता कोरोनाका विरामीको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको बताउदै उनले सर्तकता अपनाउन सुझाब पनि दिएका छन् ।
‘केहि दिन यता कोरोनाको संक्रमण हुने दर बढेको छ तर उहाँहरुको अस्पतालमा आइशोलेट हुने अवस्था भने छैन,’ उनले भने, ‘हाम्रो कर्मचारी साथीहरु पनि धेरै संक्रमीत हुनु भएको छ, हामीले अझै कोभिड अस्पताल शुरुनै गरेका छैनौ,’ ।
अब केहिदिनको कोभिड संक्रमणको तथ्याकं हेरेर कोभिड अस्पताल र आइशोलेशनबार्ड तयार पार्ने पनि डा. पौडेलले जानकारी दिए ।
संवाददाता । आइतबार, साउन २२, २०७९ मा प्रकाशित