नेपाल सरकारले संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनमा ३ दिन शोक मनाउने निर्णय गरेको छ ।
शुक्रवार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले स्व. महारानी एलिजाबेथको सम्मानमा भदौ २५ देखि २७ गतेसम्म शोक मनाउने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकले नेपालभरका सरकारी कार्यालय एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा भदौ २३ गते राति निधन भएको हो । नेपाल सरकारले उनको निधनप्रति दुःख व्यक्त गर्दै स्व. महारानीको दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ ।
दुःखद् घडीमा बेलायत सरकार, जनता एवं शोकसन्तप्त बेलायती राजपरिवारप्रति नेपाल सरकारले समवेदना प्रकट गरेको छ ।
संवाददाता । शनिबार, भदौ २५, २०७९ मा प्रकाशित