सुर्खेत । सञ्चार क्षेत्रमा पत्रकार माथि हुने दुव्र्यवहार विरुद्ध प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । युरोपियन युनियनको सहयोग मानव अधिकार सञ्चार प्रतिष्ठान नेपालको आयोजना र इन्टरनेशनल अलर्टको सहआयोजनामा सोमबार र मंगलबार वीरेन्द्रनगरमा पत्रकार माथि हुने प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो ।
पत्रकारहरुले समाचार लेखेकै कारण पत्रकारमाथि धम्की, भौतिक आक्रमण तथा कुटपिटका घटना हुने गरेको बताएका थिए । जसले गर्दा पत्रकारिता अझै पनि स्वतन्त्र हुन नसकेको उनीहरुको भनाई थियो । मानव अधिकार सञ्चार प्रतिष्ठान नेपालका सदस्य सम्झना पौडेलले पत्रकार माथि हुने दुव्र्यहार विरुद्ध एकजुट हुनुपर्ने बताइन् । उनले पत्रकारहरुले पनि पत्रकारिताको मर्म र मान्यतालाई आत्मसाथ गरेर काम गर्नुपर्ने र राजनीतिक रंग देखाउन नहुने बताइन् ।
कार्यक्रममा सहजकर्ता इन्सेकका परिस्कृत पौडेलले अभिव्यक्ति र प्रेस स्वतन्त्रता संविधान , कानूनमा व्यवस्था भए पनि त्यसको अनुभुति गर्ने गरी हुन नसकेको बताउनुभयो । इन्सेकको तथ्यांकका अनुसार पत्रकारहरु माथि पनि धम्की, आक्रमणलगायतका घटनाहरु बढ्दै गएको उहाँले बताउनुभयो । सन् २०२१ मा २५ जना पत्रकार पीडित भएको उहाँले जानकारी दिनुभयो । अन्य मानव अधिकार रक्षकहरुमाथि पनि दुव्र्यहार धम्की आउने गरेको उहाँले बताउनुभयो ।
कर्णालीमा अभिव्यक्ति भेला तथा सांगठनिक हुने अधिकारबाट समेत बञ्चित हुनुपरेको घटना रहेको बताउनुभयो । । अभिव्यक्ति स्वतन्त्रतालाई सिमित गर्न सरकारबाट पनि बेलाबेलामा दुस्प्रयास गर्ने गरिएको र जसले गर्दा पत्रकार मात्र नभएर सम्पूर्ण मानव अधिकार रक्षकहरु माथि दुव्र्यहार, धम्की आउने उहाँको भनाई छ । उहाँले मानव अधिकार रक्षकहरु विरुद्ध भएका घटनाहरुको छिटो तथा स्वतन्त्र तवरले अनुसन्धान गरी न्यायका लागि पैरवी गर्नुपर्ने, एक आपसमा सहयोग र समन्वय गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा मानव अधिकार सञ्चार प्रतिष्ठान नेपालका कार्यक्रम अधिकृत इन्दिरा पान्डेले पत्रकारहरुले आफूमाथि हिंसा हुँदा कसरी र कहाँ उजुरी गर्ने एप्सबारे जानकारी दिएकी थिइन् ।
संवाददाता । मङ्गलबार, मङि्सर १३, २०७९ मा प्रकाशित