सुर्खेत । कृषि पेशाको संरक्षण र किसानको जीवनस्तरको प्रवद्र्धनको व्यवस्था मिलाउन स्थानीय सरकारसँगको सहकार्यमा लेकवेशी नगरपालिका सुर्खेत भित्रका सबै घरधुरीको तथ्यांक संकलन, गरी किसान पहिचान र वर्गिकरण सहितको परिचयपत्रको अभ्यासको लागि लेकवेशी नगरपालिका र राष्ट्रिय कृषक समूह महासंघ, नेपालबीच संझौता सम्पन्न भएको छ ।
भिएसओ नेपालको श्रोत साझेदारीमा महासंघले यस अभ्यासमा प्रकृया सहजिकरण गर्ने छ । नेपालको संविधान २०७२ बमोजिम खाद्य संप्रभुताको हकको संरक्षण गर्दै राज्यले अगिंकार गरेको कृषिनितीमा उल्लेखित किसानको हक हित संरक्षण सम्वर्धन गर्दै किसानको पहिचान, वर्गिकरण गरी त्यसको आधारमा किसानलाई किसान परिचयपत्र उपलब्ध गराउने साथै नगरपालिकाबाट उपलब्ध गराईने कृषिसंग सम्बन्धित सेवा सुविधालाई किसान परिचय पत्रको आधारमा व्यवस्थित तरीकाले प्राथमिकताको आधारमा वितरण गर्ने उदेश्यले लेकवेशी नगरपालिकाले किसान परिचय पत्र वितरण अभ्यास शुरु गरेको हो ।
यसका लागि लेकवेशी नगरपालिकाको नगरसभाले स्थानीय कृषि ऐन, २०७८ पास गरेको कुरा लेकवेशी नगरपालिका प्रमुख उमेश कुमार पौडेलले बताए ।
नेपालको संविधानले किसानको मौलिक हक र नागरिकको खाद्य सम्प्रभुता एवं खाद्य सम्बन्धी हकको सुनिश्चितता र समग्र किसानको सशक्तिकरण गर्दै कृषि प्रणाली तथा यसको मुल्य श्रृखलामा सुशासन कायम गर्न कृषि प्रणालीलाई दिगो साथै यस क्षेत्रमा समतामुलक विकासको अभ्यास गर्नको लागि स्थानीय सरकारसँग मिलेर महासंघले स्थानीय कृषि ऐन साथै किसान परिचयपत्रलाई अभियानको रुपमा अगाडि बढाउँदै आएको कुरा महासंघका कर्णाली प्रदेश अध्यक्ष सन्त बहादुर खत्रीले बताए ।
महासंघका कार्यक्रम अधिकृत विष्णु प्रसाद पन्थका अनुसार यस अभ्यासले जोखिममा रहेका किसानलाई सेवामा पहुँच पुर्याउनुका साथै किसान परिचय पत्रको आधारमा किसानलाई सेवा सुविधा र सामाजिक सुरक्षाको अभ्यास गर्नको लागि परिचयपत्रले तहगत सरकारलाई सहयोग गर्ने छ ।
संवाददाता । सोमबार, मङि्सर २६, २०७९ मा प्रकाशित