सुर्खेत । मानवताका लागि सांगितिक कार्यक्रमका लागि नेपथ्य ब्याण्डको टोली सुर्खेतमा आइपुगेको छ । मानव सेवा आश्रमको भवन निर्माण सहयोग जुटाउने उद्देश्यले बुधबार आयोजना गरिएको सांगितिक कार्यक्रमका लागि नेपथ्यको टोली सुर्खेत आइपुगेको हो ।
संगीतका साथसाथै मानवताको उद्देश्यसहित मानवसेवा आश्रमको आयोजनामा यसपटक नेपथ्यले मुलुकभरको यात्रा गर्नलागेको छ । पूर्वीदेखि पश्चिमसम्म गरेर दस स्थानमा आयोजना गरिने कन्सर्ट अन्तर्गत बिराटनगरबाट सुरुभएको यो यात्रा एक महिनासम्म चल्नेछ । बुधबार सुर्खेत खुलामञ्चमा हुने कन्सर्टको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । ‘संगीतबाट मनोरञ्जन मात्र नभइ लोक कल्याणका हिसाबले पनि नेपथ्यको कार्यक्रम वीरेन्द्रनगर सुर्खेतका लागि महत्वपूर्ण छ,’ मानवसेवा आश्रमको सुर्खेतस्थित संयोजक सन्जिता गौतमले भनिन, ‘कार्यक्रमलाई भब्य रुपमा प्रस्तुत गर्न आयोजकका हिसाबले सम्पूर्ण तयारी पुरा गरिसकेका छौं ।’ यो कन्सर्टको लाभांसले मानवता प्रवद्र्धनका साथै सुर्खेतमा आश्रमको आफ्नै शाखा भवन बनाउने सोच लिइएको गौतमले बताईन् । गौतमका अनुसार सुर्खेत कन्सर्टका टिकटहरु धमाधम बिक्री भइरहेका छन्। समयमै टिकट लिएर सिट सुरक्षित गर्न चाहने दर्शकहरुले अनलाइन मार्फत् पनि टिकट काट्न सक्ने उनको भनाई छ ।
टिकटको लागि मानवसेवा आश्रमको आधिकारिक वेबसाइट msa.org.np मार्फत सोझै काट्न सकिन्छ। त्यसैगरि नेपथ्य ब्याण्डको वेबसाइट nepathya.com.np बाट पनि कन्सर्टहरुको टिकट उपलब्ध गराइएको छ। सुर्खेतमा १५ बर्षपछि नेपथ्यको कन्सर्ट नेपथ्य ब्याण्ड नेपाल र विश्वभरि छरिएका नेपाली युवापुस्तामाझ लोकप्रिय लोक रक संगीत टोली हो । यसपटकको महिनादिन लामो नेपाल भ्रमण अन्तर्गत वीरेन्द्रनगर सुर्खेतमा दोस्रो प्रस्तुती दिनलागेको हो । कार्यक्रम पुस ६ गते बुधबार बेलुकी ४ बजे स्थानीय खुलामञ्च मैदानमा हुनेछ । वीरेन्द्रनगर सुर्खेतमा यसअघि नेपथ्य एकपटक मात्र उपस्थित भएको थियो । अघिल्लोपटक सन् २००७ मा ‘शान्तिको लागि शिक्षा’ अभियान अन्तर्गत ब्याण्डले यहाँ नेपाल राष्ट्र माध्यमिक विद्यालयको प्रांगणमा आफूलाई प्रस्तुत गरेको थियो ।
संवाददाता । मङ्गलबार, पुष ०५, २०७९ मा प्रकाशित