सुर्खेत । गर्मी तथा बर्खा सुरु भएसँगै मौसमका कारण देखिने विभिन्न स्वास्थ्य समस्या लिएर अस्पतालमा बिरामीहरु आउन थालेका छन् । झाडा पखाला, भाइरल ज्वरो, छालाको संक्रमण तथा किटजन्य रोगका बिरामी बढ्न थालेका हुन् ।
काठमाडौंको टेकु अस्पतालमा दैनिक ५ देखि ६ सय जनासम्म बिरामी उपचारका लागि आउने गर्छन् । यसरी आउने बिरामीमध्ये ४० प्रतिशतमा झाडा पखाला, ज्वरो, किटजन्य रोगको संक्रमण, छालासम्बन्धी समस्या देखिने गरेको छ ।
टेकु मात्र हैन, पाटन, वीर, त्रिवि शिक्षण लगायतका अस्पतालमा पनि बिरामीहरुको चाप उत्तिकै छ । दैनिक अस्पताल आउनेमध्ये ८ प्रतिशतका मौसमका कारण समस्या देखिएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । ३ हप्ता अघिसम्म ३ प्रतिशतको हाराहारीमा मात्रै यस्तो समस्या देखिने गरेको थियो ।
मौसमका कारण देखिन सक्ने समस्याका बारेमा आफु चनाखो भए नियन्त्रण गर्न सकिने र जोखिम पनि कम हुने चिकित्सक बताउँछन् । गर्मीका बेला खाना राम्रोसँग पकाएर मात्र खाने, शुद्ध पानी पिउने र सरसफाइमा ध्यान दिने हो भने संक्रमणको जोखिम कम हुने चिकित्सकको सुझाव छ ।
सामान्य बानी व्यवहारमा ध्यान दिएमा मौसमी रोगको जोखिमलाई कम गर्न सकिने भएकाले सबैले समयमै ध्यान दिन जरुरी छ ।
संवाददाता । शुक्रबार, साउन १२, २०८० मा प्रकाशित