सुर्खेत । सुर्खेतको विरेन्द्रनगरस्थित शिवशक्ति सामुदायिक वन आठ वर्ष पहिले उजाड उजाड भइसकेको थियो। वृक्षारोपण नियमित हुन्नथ्यो। काठ भने काटिरहन्थे। चरिचरण खुला थियो। वनक्षेत्रमा पर्ने पोखरीहरू सुकिसकेका थिए। कति सुक्नेक्रममै थिए। यो वनबाट स्थानीयलाई खासै लाभ मिलेको थिएन।
२०७३ सालमा शिवशक्तिको नेतृत्व मिना आचार्यले लिइन्। त्यसपछि उनले वन, पोखरी चरिचरण र वृक्षारोपणलाई व्यवस्थित गरिन्।
अहिले वन हराभरा छ। २ हजार ९० हेक्टर क्षेत्रफल ओगटेको यो वनका ८ सय बढी उपभोक्ताले धेरै थरी लाभ लिन पाएको स्थानीय बताउँछन्।
नेतृत्वमा महिला भएकाले आठ वर्षमै वन आन का तान फेरिएको भनेर गाउँलेदेखि वनकार्यालयका कर्मचारीहरूले तारिफ गर्छन्।
सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष हुन आचार्यले कम संघर्ष गर्नुपरेको होइन।८ वर्षअघि उनी वनको उपाध्यक्ष थिइन्। अध्यक्ष पुरूष थिए। समितिमा पुरूषकै बाहुल्यता थियो। त्यो बेला समितिमा महिला अनिवार्य हुने भएकालेमात्र आफूलाई नामको उपाध्यक्ष बनाइएको उनी बताउँछिन्। अरू काममा भने उनलाई कसैले सम्झिन्नथ्यो। वनको बैठक हुन्थ्यो तर त्यसको जानकारी अध्यक्षले आफूलाई नदिएको उनी थाहा पाउँथिन्। वनका रूख, घाँसदाउरा र काठ काट्ने र बिक्रि गर्ने निर्णय गर्ने बेला पनि बोलाउन्नथे। महिला भनेर आफूलाई हेपेको भन्ने कुरा उनले बुझिन्। वनको हरेक निर्णयमा महिलाहरूलाई कमजोर छन् भनेर वास्ता नगरेको देख्दा उनलाई रिस नै उठ्न थाल्यो। आफू मात्र होइन अरू महिला सदस्यलाई पनि पुरूषहरूले सोधखोज गर्दैनथे। उनलाई अध्यक्ष र समितिका अरू पुरूषहरूको यस्तो रवैया चित्त बुझेन। महिलालाई कमजोर सोचेर गरिएको उनीहरूको व्यवहारले उनको अहमलाई हल्लाइदियो। यसबारे सोच्दा सोच्दै कैयौँ रात निद्रा समेत नपरेको उनी बताउँछिन्।
‘अनि मैले मनमनै आफै अध्यक्ष बन्ने निर्णय गरेँ,’ उनले भनिन्।
उनले वन उपभोक्ता समितिकै अरू महिलाहरूलाई पुरूषहरूको रवैया र कामबारे आफ्नो धारणा सुनाइन्। महिला भएकै कारण आफूहरूलाई हेपिएको छ भन्ने कुरा बुझाइन्। अनि आफू अध्यक्ष भए वनलाई राम्ररी व्यवस्थित गरेर गाउँलेलाई फाइदा हुनेगरी काम गर्ने प्रतिबद्धता पनि जनाइन्। महिलाहरूले उनलाई समर्थन गर्न थाले। अध्यक्षको विरोध हुन थाल्यो।
‘महिलाहरू मिलेर नाराबाजी नै गर्यौँ नि!’ उनले भनिन्, ‘जतिजति उहाँहरूले हामी महिलालाई दबाउदै जानुभयो उतिउति मलाई अध्यक्ष भएर केही काम गरेरै देखाउँछु भन्ने भयो। बैठकमा सबै महिलाले एकपटक महिलाको नेतृत्व चाहियो भनेर अड्डी कस्यौँ।’
उनले अध्यक्ष बन्नका लागि व्यक्तिगतरूपमा आफ्नो योग्यता क्षमता बढाउन समेत लागिपरिन्। त्यतिखेर उनी एसएलसी पास मात्रै थिइन्। वन उपभोक्ता समितिको अध्यक्ष हुन खोज्दा एसएलसी पासमात्र भनेर फेरि बाटो छेकिने हो कि भन्ने पिरले उनी आफ्नी छोरीसँगै प्लसटु भर्ना भइन्। र प्लसटु पास गरिन्।
र २०७३ सालमा उनी शिवशक्ति सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षमा चुनिइन्।
‘१५ वर्ष नेतृत्व गरिसकेपछि अब महिलाले पाउनुपर्छ भनेर पुरूषहरूसँग लडेरै अध्यक्ष भएँ,’ उनले भनिन्। शिवक्ति सामुदायिक वनका आठ सय परिवार उपभोक्ता छन्। १३ सदस्यीय कार्यसमिति रहेको यो वनमा दुई जना मात्र पुरुष सदस्य छन्।
अध्यक्षमा निर्वाचित भएपछि उनले काम गर्न थालिन्। उनले पहिलो चरणमा दुई हेक्टर वनलाई तारबार गरिन् र चरिचरण बन्द भयो। यो कामका लागि डिभिजन वन कार्यालयले पनि सहयोग गर्यो। दोस्रो चरणमा सुकिसकेका दुईवटा पोखरीमा पानी पुनर्भरण गर्ने काम गरिन्। तेस्रो चरणमा सामुदायिक वनभित्र अमृसो रोप्ने काम गरिन्। तिनको मलजल र रेखदेखका लागि समिति सदस्य र उपभोक्ताले पालो लगाएर काम गर्नुपर्ने नियम बनाइन्।
मिना नेतृत्वमा आएपछि अहिलेसम्म यो सामुदायिक वन क्षेत्रमा चारवटा रिचार्ज पोखरी बनेका छन्। यी पोखरीले बर्खाको पानी भण्डारण गरी सुख्खा समयमा बिरूवालाई दिन सक्छन्। प्रशस्त जंगल छ। आवश्यकताअनुसार वृक्षारोपण पनि भईरहेकै छ। वन क्षेत्रमा दुईवटा खाने पानीका धारा बनेका छन्।
नेतृत्व सम्हालेपछि काम गर्न चाहिने बजेट कहाँ-कहाँबाट ल्याउन सकिन्छ भनेर उनले खोज्ने थालिन्। तेस्रो वर्ष उनले सामुदायिक वन अध्ययन केन्द्र बबर महलबाट बजेट ल्याइन्। उक्त बजेटबाट बाल टावर र गोलघर बनाइन्।
त्यसपछिका वर्षहरूमा उपभोक्ता समितिको आफ्नै भवनमा दोस्रो तला थप्ने र समुदायसँग सहकार्य गर्ने काम पनि उनको कार्यसमितिले गर्दै गयो।
‘अहिले हामीले समुदायका अशक्त र असहायहरूलाई सहयोग गर्ने, विपन्न वर्गका विद्यार्थीलाई पढ्नका लागि चाहिने सहयोग जुटाइदिन, बाल विकास पढाउने चार जना शिक्षिकालाई मासिक रूपमा ५ सयका दरले सहयोग प्रदान गर्ने जस्ता सामाजिक काममा पनि समितिलाई जोड्दै आएका छौँ,’ मिनाले भनिन्।
स्थानीय रूपक कार्कीले मिनाले वनको नेतृत्व सम्हालेपछि धेरै कुरा राम्रो भएको बताए।
‘मिनाले नै बजेट ल्याएर गाँउको खोला छेउछाउमा तटबन्धनको काम गर्नुभयो, वनजंगल व्यवस्थित गर्नुभयो,’ उनले भने,’ उनले भने, ‘वन उपभोक्ता समितिको जिम्मेवार पदहरूमा महिला पुगेपछि त वनमात्र होइन समाजमा पनि राम्रा काम पो गरिरहेका छन् त।’
मिनाले सुरूमा वनको नेतृत्वोगर्दा कसैले नपत्याएको उनले सम्झिए।
‘सुरूमा त गाउँलेहरूले यीनले के काम गर्लान भनेर पत्याउँदैनथे। महिलाहरूले राम्रो काम गरे। अहिले त गाउँलेहरूले अर्को वर्षपनि यिनिहरूलाई नै वनको नेतृत्व दिने हो भन्न थालेका छन्,’ उनले भने, ‘ हुन पनि पुरूषहरूले १७ वर्ष चलाउँदा हुन नसकेको काम महिलाहरूले सजिलै गरेर देखाइदिए।’
यो बीचमा आफूलाई निकै चुनौतिहरू पनि आइलागेको मिना बताउँछिन्। आफू नेतृत्वमा आएपछि कतिपय पुरूषहरूले उनको खुट्टा तान्न खोजे, उनलाई असहयोग गर्नेहरूपनि धेरै थिए।
‘कतिले त मेरो चरित्रहत्या गर्न पनि खोजे। तर म कत्ति डराइनँ। भन्नेका पछि लाग्न थाल्यो भने आफू अघि बढिन्न भन्ने मैले बुझ्दै गएँ,’ उनले भनिन्, ‘हिम्मत हार्न हुन्न रहेछ। जस्तो सुकै काम गर्न पनि सकिन्छ भनेर मैले काम गर्दै गएँ। पहिला मलाई असहयोग गर्ने पुरूषहरू समेत अहिले त मलाई समर्थन गर्न थाल्नुभएको छ।’
कर्णाली प्रदेश वन निर्देशनालयका सुचना अधिकारी सुर्य शर्माले मिनालाई सहासिलो महिलाकारूपमा चिनेको बताए।
‘मिना जी एकदमै साहासिलो महिला हो। समुह अत्यन्तै विवादित, त्यो वडाका फरक फरक उद्धेश्य सोच भएका नागरिकलाई मज्जाले मिलाउन सक्ने भूमिका भएको मान्छे हो। वन संरक्षणमा दिन रात खटिनु भएको छ। वनको संरक्षण मात्रै होइन वनभित्र बस्ने जनावरको आवश्यकतालाई बुझेर व्यवस्थापनमा पनि राम्रो काम गर्नुभएको छ,’ उनले भने, ‘उहाँ दुई कार्यकाल बिताइसक्नुभयो। उहाँको नेतृत्वलाई कसैले चुनौती दिन सक्दैन पनि।’
महिलाले सम्हालेका सामुदायिक वन भए अब्बल
समाजका अरू क्षेत्रमा जस्तै सामुदायिक वनका उभभोक्ता समितिहरूको नेतृत्वमा पनि पुरूषकै बाहुल्यता हुन्थ्यो। केही वर्षयता भने महिलाहरूले वनको नेतृत्व लिन थालेका छन्। सामुदायिक वन उपभोक्ता महासघं नेपालका अनुसार हाल नेपालमा २२ हजारभन्दा बढी सामुदायिक वन छन्। तीमध्ये करिब ११ सय सामुदायिक वनको नेतृत्व महिला छन्। त्यस्तै सुर्खेत जिल्लाभित्र मात्र २ सय ७१ वटा सामुदायिक वन छन्। विरेन्द्रनगर नगरपालिकाभित्रमात्रै ७२ मध्ये १४ वटा सामुदायिक वनको नेतृत्व महिलाले गरेका छन्। महिलाले सम्हालेका वनहरू धेरै राम्रो र व्यवस्थित भएको अधिकारीहरू बताउँछन्।
महिलाले नीति नियमभित्र रहेर काम गर्ने हुँदा उनीहरूले नेतृत्व गरेका वन सफल भएको कर्णाली प्रदेश वन निर्देशनालयका सहायक वन अधिकृत थापाले बताए।
वन उपभोक्ता महासङ्ग कर्णाली प्रदेशका अध्यक्ष भवानीप्रसाद अधिकारी कर्णाली प्रदेशमा महिला नेतृत्वका सामुदायिक वन पुरूषको तुलनामा सफल भएको बताउँछन्।
‘महिला वन जंगलसँग बढी जोडिएको हुनाले पनि महिलाले वनको संरक्षणमा इमानदार पूर्वक काम गर्दै आएको, सुशासन, प्रभावकारी रेखदेख, कानुन पालनामा कडाइ गर्ने क्षमता पुरूषको तुलनामा महिलाको धेरै हुने रेहछ,’ उनले भने, ‘उनीहरूले सम्हालेका वनहरू सफल छन्।’
वन उपभोक्ता महासङ्ग सुर्खेतका अध्यक्ष चन्द्र प्रसाद थानीको पनि अधिकारो जस्तै बुझाइ छ।
महिलाले नेतृत्व लिन थालेपछि पुरुषले साथ र सहयोग नगरेको पनि उनले अनुभव गर्छन्।
‘उनका अनुसार महिलाको नेतृत्वमा पुरूष हिँड्नु हुँदैन भन्ने मानसिकताले जरा जाडेको छ। त्यस कारण वन संरक्षणमा जुटेका पुरूष र महिलाहरूबीच द्वन्द बढेको भने छ,’ थानीले भने, ‘महिलाले चलाएका वनका गतिविधि विवाद रहित र आर्थिक रूपमा पारदर्शी मात्र नभइ वन हराभरा बनाएका छन्।’
वन नियमावली अन्तर्गतको सामुदायिक वन मार्गदर्शन २०६५ मा वन व्यवस्थापन, स्रोत र कोष परिचालनमा महिलाको सहभागीता बढाउने नीति छ। यसका लागि सामुदायिक वनको उपभोक्ता समितिमा अनिवार्य ५० प्रतिशत महिला सहभागी हुनुपर्ने व्यवस्था छ। वन मार्गदर्शनमा अध्यक्ष र महासचिव पदमध्ये कम्तीमा एक पदमा महिला रहने प्रावधान छ। त्यसै गरी उपाध्यक्ष र कोषाध्यक्षमध्ये कम्तीमा पनि एक पदमा महिला अनिवार्य रहने व्यवस्था रहेको छ।
सिर्जना बुढाथोकी । आइतबार, पुष ०७, २०८१ मा प्रकाशित