Karnali Media
२०८३ जेठ २४ , आइतबार

सुर्खेतमा प्रहरीको विशेष अपरेसन : २८ जना नियन्त्रणमा, १९४ ग्राम चरेस बरामद



सुर्खेत । लागुऔषध नियन्त्रण तथा शंकास्पद गतिविधि रोकथामका लागि प्रहरीले सञ्चालन गरेको विशेष अपरेसन अन्तर्गत २८ जनालाई नियन्त्रणमा लिइएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वैशाख १० गते वीरेन्द्रनगर नगरपालिका भित्रका विभिन्न स्थानबाट लागुऔषध सेवन गर्ने, झैझगडा गर्ने, लागुऔषध मुद्दामा संलग्न तथा अन्य शंकास्पद गतिविधि गर्ने व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा पर्नेहरूमा विभिन्न उमेर समूहका २७ पुरुष र १ महिला रहेका छन्।

प्रहरीले उनीहरूलाई निगरानी तथा अनुसन्धानका लागि नियन्त्रणमा राखेको जनाएको छ भने यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिएका छन्।


सोही अपरेसनमा चौकुने गाउँपालिका–७ घर भई हाल वीरेन्द्रनगर–८ बस्दै आएका ३६ वर्षीय सर्जन शाही र ३५ वर्षीया दुर्गा शाहीको साथबाट लागुऔषध चरेस जस्तो देखिने कालो पदार्थ १९४ ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद गरिएको पदार्थको परीक्षण तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध विरुद्धको अभियानलाई थप कडाइका साथ निरन्तरता दिने जनाएको छ।

प्रकाशित मिति : २०८३ वैशाख १० गते बिहीबार