सुर्खेत । मोक्षपथ फाउन्डेसनले आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेशको सहकार्य तथा रिकोभरिङ नेपालसँगको समन्वयमा लागू औषध, पुनर्स्थापना, र योग विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सोमबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा विद्यालय, उद्योग वाणिज्य संघ, गैरसरकारी संस्था, नगरपालिका, रिकोभरिङ नेपाल, सुर्खेतका पुनर्स्थापना केन्द्रहरू, सञ्चारकर्मी, चिकित्सकलगायत २५ जना सहभागी थिए। मोक्षपथ फाउन्डेसनका तर्फबाट योग साधक तथा अध्येता हरि उपाध्यायले लागू औषध दुर्व्यसनी विरुद्ध पुनर्स्थापनामा उपचाररत व्यक्तिहरूको मानसिक र भावनात्मक स्वास्थ्यमा योगको प्रभावसम्बन्धी अध्ययनको निष्कर्ष र सिफारिसहरू प्रस्तुत गर्नुभएको थियो ।
अध्ययनका क्रममा २६ जना सहभागीलाई ३० दिनसम्म हरेक दिन १ घण्टा योग गराउँदा मानसिक, भावनात्मक तथा फोक्सोको क्षमतामा सकारात्मक प्रभाव देखिएको तथ्यांक प्रस्तुत गरिएको थियो।
कार्यक्रमका सहभागीहरूले समग्र जीवनशैली परिवर्तन र शारीरिक तथा मानसिक आरोग्यताका लागि योगको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै पुनर्स्थापना केन्द्र, विद्यालय, र समाजमा नियमित योग अभ्यास गराउन आवश्यक रहेको धारणा राखे। वालरोग विशेषज्ञ तथा सामाजिक अभियन्ता डा. नवराज केसीले मानसिक तथा भावनात्मक स्वास्थ्य सुधारका लागि योग ध्यान प्रभावकारी रहेको पुष्टि गर्ने विस्तृत क्लिनिकल अध्ययनहरू भइसकेकाले यसको व्यवस्थित, विश्वासनीय, र चिकित्सकीय प्रयोग गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ।

यसैगरी, जडीबुटी वैज्ञानिक राजेन्द्र विष्टले लागूऔषधको रोकथामका लागि व्यापक जनचेतना, सामूहिक पहल, तथा वैकल्पिक, रचनात्मक, र प्राकृतिक आनन्दमय गतिविधिहरू—जस्तै योग, जडीबुटी, वन-जङ्गल सयर, र सुगन्धित अभ्यास—प्रयोगमा जोड दिनुपर्ने बताउनुभयो।
रिकोभरिङ नेपाल कर्णाली प्रदेशका सल्लाहकार कुमार ढकालले लागू औषध दुर्व्यसन एक गम्भीर र संवेदनशील विषय भएको उल्लेख गर्दै यसका लागि हाल भइरहेका प्रयासहरू अपुग रहेको बताउँदै यस समस्यालाई रोकथाम गर्न सरकारको ठोस नीति र प्रभावकारी कार्यक्रम आवश्यक रहेको र युवाहरू ठूलो संख्यामा लागू औषध दुर्व्यसनमा फस्दै गएकाले चिन्ताजनक अवस्था सिर्जना भएको उल्लेख गर्नुभयो। साथै, उपचारपछि पनि धेरै व्यक्ति पुनः लागू औषध दुर्व्यसनमा फर्किने सम्भावना उच्च भएकाले यो झन् जोखिमपूर्ण चुनौती बनेको धारणा राख्नुभएको थियो ।
त्यस्तै, गैरसरकारी संस्था महासंघ कर्णाली प्रदेशका अध्यक्ष घनश्याम केसीले लागूऔषध विरुद्ध साझा अभियान र पहल आवश्यक रहेको बताउँदै महासंघ विभिन्न दातृ निकाय तथा सरकारसँग समन्वय गर्दै योगलाई पुनर्स्थापनाको एक प्रभावकारी माध्यमका रूपमा अघि बढाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
कार्यक्रममा मन्तव्य राख्दै आन्तरिक मामिला मन्त्रालयका सचिव उत्तम गौतमले प्रस्तुत अध्ययनले लागू औषध दुर्व्यसनीसम्बन्धी संवेदनशील विषय उजागर गरेको र नीतिगत प्राथमिकताका लागि मार्गनिर्देशन गरेको बताउनुभयो। उहाँले सकारात्मक पहल, नीतिगत व्यवस्थापन, र सबै पक्षको सहकार्यबाट लागू औषध दुर्व्यसन न्यूनीकरण गर्न सकिने धारणा समेत व्यक्त गर्नुएको थियो।
संवाददाता । सोमबार, माघ २८, २०८१ मा प्रकाशित