काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधानको असफलताले मुलुकलाई गम्भिर संकटमा धकेल्ने बताएका छन् ।
शनिवार काठमाडौंमा आयोजित सुदूरपश्चिम कानून समाजले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । गृहमन्त्री लेखकले नेपालको संविधान विश्वकै उत्कृष्टमध्ये एक भएको दाबी गर्दै वर्तमान व्यवस्थाको सुदृढीकरण आजको आवश्यकता भएको बताए ।
उनले २००४ सालदेखि ७० वर्षमा सातवटा संविधान निर्माण हुनु राजनीतिक अस्थिरताको भुमरिमा रहेको पुष्टि हुने बताए । उनले पटक पटक संविधान निर्माण गर्नु गलत भएकाले वर्तमान राज्य व्यवस्था र प्रणालीलाई बलियो बनाउनु पर्नेमा जोड दिनुभयो । नेपालको संविधान विश्वकै राम्रो मध्येको एक संविधान भएको बताए ।
उनले भने, ‘हामीले संसारको राम्रो मध्येको एक संविधान बनाएका छौँ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने उद्देश्यका साथ संविधान निर्माण भयो । यो संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी व्यवस्थाको सुदृढीकरण आजको आवश्यकता हो । नेपाल संसारकै विरलै मध्येको त्यो देश हो जसले ७० वर्षमा सात वटा संविधान बनायो । नेपालको संवैधानिक व्यवस्थाको यात्रा २००४ सालदेखि भयो ०७२ सालमा हामीले सातौ संविधान बनायौँ । धेरै सडक, पुल, विद्यालय बनाउने कुरा असल हुन् तर धेरै संविधान बनाउने कुरा बेठिक हो । धेरै संविधान बनाउने भनेको यो ७० वर्षमा कति राज्य व्यवस्थाको अस्थिरता व्यहो¥यौँ मापन हो त्यो । त्यसैले यो संविधान असफल गर्ने छुट कसैलाई छैन । एउटा संविधानको असफलतापछि अर्को संविधानको निर्माणसम्ममा सामानयतया २० वर्ष लाग्ने रहेछ । २९४७ सालको संविधान २०५२ सालदेखि कमजोर हुन शुरु भयो । २० वर्षको समय भनेको राष्ट्रका लागि धेरै लामो र महत्वपूर्ण समय हो । यो संविधानको असफलता मुलुकलाई अर्को ठूलो गम्भीर संकटमा पुर्याउँछ ।’

गृहमन्त्री लेखकले कानूनको शासन लोकतन्त्रको आधारभुत आवश्यकता भएको बताए । उनले कानूनी शासन स्थापना गर्नसके मात्रै लोकतन्त्र जीवित रहने बताए । शासन व्यक्तिले नभइ विधिले गर्छ भन्ने कुराको अग्रणी स्थानमा कानुन व्यवसायी रहेको उनको भनाइ छ ।
उनले भने,‘कानूनको शासन भनेको लोकतन्त्रको पनि आधारभुत आवश्यकता हो । यदि कानूनको शासन छैन भने लोकतन्त्र पनि छैन । कानूनको शासन स्थापना गर्नसक्यो, लोकतन्त्र जीवित रहन्छ । त्यसकारण कानूनको शासन स्थापना गर्नेकुरा शासन व्यक्तिले होइन विधिले गर्छ भन्नेकुरा स्थापित गर्ने कुरा कानुनले साँचो अर्थमा शासन गर्ने भन्ने कुराको अग्रणी मोर्चामा तपाईहरु हुनुहुन्छ । विचारको निर्माण र प्रवाह गर्ने तथा विचारको बिस्तार गर्ने काममा तपाईंहरुको सबैभन्दा बढी महत्व छ । त्यो आफ्नो महत्वलाई तपाईहरुले पनि बुभ्mनु र क्रियाशील हुनु जरुरी छ । समाजमा त्यस अनुसारको सहभागिता हुनु पनि जरुरी छ ।’
गृहमन्त्री लेखकले लोकतन्त्र भनेको अनुशासनको पद्धति भएकाले त्यहाँ कानूनी शासन हुने बताए । उनले संवैधानिक व्यवस्थाअनुसार नै हरेक १० वर्षमा संविधानको पुनरावलोकन गरी दुर्वल पक्षको पहिचान र परिमार्जन गर्नुपर्नेमा जोड दिए ।
संवाददाता । शनिबार, फागुन १०, २०८१ मा प्रकाशित