काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले अरुले ज्ञानेन्द्र शाहलाई पूर्वराजा भनेपनि आफुले राजा नै भन्ने बताएका छन् । झापामा शुक्रवार आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले राजा फर्काउनुपर्छ भन्नेकुरा नेपालमा मात्र नभई फ्रान्स लगायतका देशहरूमा पनि हुने गरेको भन्दै नागरिकहरू असन्तुष्ट हुँदा अहिले प्रदर्शन भएको बताए ।
गणतन्त्रले जनतामा आशा, भरोसा जगाउन सक्यो की सकेन भन्नेकुरामा ध्यान दिन जरुरी हुने बताए । उनले राजतन्त्र फर्किने आफूलाई विश्वास नरहेको जिकिर गरे । गणतन्त्रका रक्षकहरूले राम्रो काम गरेर देखाउनुपर्ने बताए ।

उनले भने ‘अरुले पूर्वराजा भन्छन् म राजा नै भन्छु । किनभने कार्यकारी भइसकेको व्यक्तिलाई पूर्व भन्ने चलन बाहिर छैन, नेपालमा मात्रै छ । राजाको कुरा हेर्दा हरेक देशमा चलिरहेको हुन्छ । आज पनि फ्रान्स जानुभयो भने पेरिसमा एउटा चिया पसल छ । चिया पसलमा राजा फर्काउनुपर्छ भन्ने गफ हुन्छ । यसले के देखाउँछ भने द्वन्द्व चलिरहेको हुन्छ । हामीले कसरी लिएका छौँ । राजाको बारेमा कुरा गरेर मात्रै हुँदैन । जनतालाई कतिको खुसी पार्न सकेका छौँ भन्ने हो । गणतन्त्र ल्यायौँ । त्यसले आशा, भरोसा जगाउन सकेका छौँ की छैनौँ भन्ने हो । राजा फर्किन्छ त भन्नुभयो, मलाई लाग्दैन । माईखोलामा धेरै पानी बगिसक्यो मलाई लाग्दैन । हामीले राम्रो काम गरेर देखाउने हो ।’
संवाददाता । शनिबार, फागुन २४, २०८१ मा प्रकाशित