काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबारका लागि मौसम जानकारी साझा गरेको छ ।
महाशाखाले पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडी तथा अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशका विभिन्न प्रदेशमा मौसम प्रभावित हुने जनाइएको छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा दिउँसो र राति हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी र तराई क्षेत्रमा पनि बदली रही थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

मधेश र लुम्बिनी प्रदेशमा दिउँसो र राति तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान छ । लुम्बिनीको हिमाली क्षेत्रमा बदली रहने र पहाडी क्षेत्रमा पनि वर्षाको सम्भावना छ ।
कर्णाली प्रदेशमा भने दिउँसो र राति हिमाली क्षेत्रमा बदली रहने र पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । महाशाखाले वर्षा, हिमपात र चट्याङका कारण जनजीवन, कृषि, स्वास्थ्य, सडक र हवाई यातायातमा असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
संवाददाता । बुधबार, जेठ ०७, २०८२ मा प्रकाशित