सुर्खेत, २० माघ । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर सुर्खेतमा फोहोर व्यवस्थापन कमजोर देखिएको छ । वीरेन्द्रनगर नगरपालिका कर्णाली प्रदेशको प्रशासनिक, व्यापारिक, तथा शैक्षिक केन्द्र भएको र मानिसहरुको चाप धेरै हुने हुदा प्रदेश राजधानीमा सडकदेखि डम्पिङ साइडसम्मको फोहोर व्यस्थापन प्रमुख चुनौती बनेको छ ।
वीरेन्द्रनगर सुर्खेतको बजार क्षेत्रमा उठेको फोहोरलाई नगरपालिकाले वडा नम्बर १ को बतासे डाँडामा डम्पिङ साइड बनाएर फाल्दै आएको छ । यद्यपि बतासे डाँडामा फोहोरको उचित व्यवस्थापन भएको भने देखिदैन । यसो त वीरेन्द्रनगर नगरपालिकाले अझैपनि एक स्थानको फोहोर अर्को स्थानमा लगेर थुपार्दै आएको छ । यसरी फोहोर व्यवस्थापन नहुने विभिन्न विज्ञहरुले तर्क समेत दिएका छन् । एक स्थानको समस्या अर्को स्थानमा लगेर थुपार्नु व्यवस्थापन नभएको विज्ञहरु बताउँछन् ।
सुर्खेत बतासे डाँडामा रहेको डम्पिङ साइडको अवस्थालाई हेर्दा यो स्थान एकदमै दुर्गन्धित बन्दै गएको छ । जसले गर्दा उक्त स्थानको वातावरण र त्यस क्षेत्रमा काम गर्ने स्थानीय प्रभावित भएका छन् । डम्पिङ साइडमा सबै प्रकारका फोहोर एकै स्थानमा फालिदा यसले थप चुनौती र समस्याहरु पैदा हुने देखिन्छ ।
बतासे डाँडामा कसरी हुन्छ फोहोर व्यवस्थापन ?
वीरेन्द्रनगर सुर्खेतको विभिन्न स्थानबाट उठेको फोहोर संकलन गर्दा कुहिने, नकुहिने सबै प्रकारका फोहोर सबै एकै ठाउँमा राखिन्छ र सोही फोहोरलाई बतासे डाँडामा लगेर फालिन्छ । साथै बतासे डाँडामा स्वास्थ्यजन्य फोहोर पनि मिसिन्छ । केही फोहोरलाई जलाईन्छ र केही त्यहि छोडिन्छन् । जसकारण डम्पिङ साइड जति टाढा भएपनि फोहोरलाई खुल्ला आकासमा राख्ने र सबै प्रकारका फोहोरलाई एकै स्थानमा मिसाउँदा यो क्षेत्रमा वातावरण र दृश्य प्रदुषणसँगै फोहोर थुप्रिएर आउने गन्ध, बग्ने लिचट र जलाउँदा निस्कने धुवाँले यो क्षेत्रमा गम्भिर असर पर्ने देखिन्छ । समान्यतया फोहोरलाई तीन प्रकारमा छुट्याएर छुट्टाछुट्टै व्यवस्थापन नहुदा यो क्षेत्रमा जोखिम बढेको पाईन्छ ।
बतासे डाँडाको स्थलगत अवस्था :
डम्पिङ साइडमा सबै प्रकारका फोहोरहरु एकै स्थानमा फालिएको देखिन्छ । सबैभन्दा संक्रमणको प्रमुख कारण मानिने र मानव स्वास्थ्यका लागि हानिकारक स्वास्थ्यजन्य फोहोरको समेत यस क्षेत्रमा उचित व्यवस्थापन छैन् । अन्य फोहोर सरह नै यो फोहोरलाई पनि एकै स्थानमा फालिने गरेको पाइएको छ । कुहिने, नकुहिने र स्वास्थ्यजन्य फोहोर एकै स्थानमा फालिदा सबै भन्दा प्रमुख समस्यामा त्यस क्षेत्रमा काम गर्ने स्थानीयहरु परेका छन् ।
वीरेन्द्रनगर नगरपालिका १ बस्ने हरिसरा नेपाली र पुष्पा नेपाली विगत ५ बर्षदेखि डम्पिङ साइडमा काम गर्दै आएका छन् । फोहोरका ट्याकरहरुले फालेको फाहोरलाई सोरेर मिलाउने आफ्नो काम भएको उनीहरु बताउँछन् । मिश्रित फोहोरले गर्दा आफुहरुलाई काम गर्न चुनौती भएको उनीहरुको भनाइ छ । मास्क, पञ्जा समेत नलगाई काम गरिरहेका उनीहरु नगरपालिकाले मास्क, पञ्जा दिन समेत वेवास्ता गरेको बताउँछन् ।
मास्क, पञ्जा समेत नलगाई काम गरिरहेका उनीहरु नगरपालिकाले मास्क, पञ्जा दिन समेत वेवास्ता गरेको बताउँछन् ।
औषधी प्रयोग पश्चात फालिएका सिरीन्ज, फुटेका काचहरु मिसिएको फोहोर मिलाउँदै गरेकी पुष्पा नेपालीले विगत पाँच बर्ष देखि काम गर्दै आएको र एक बर्षदेखि नगरपालिकाले नियुक्ती दिएर राखेको भएपनि आफ्ना समस्याहरु सुन्न कोही नआएको कर्णाली मिडियालाई बताईन् ।उनले भनिन्, “दिनमा कयौँ पटक हस्पिटलका सिरीन्जहरु बिज्छन् । कति पटक सिसाले काट्छन् । यहाँको दुर्गन्धको त बानी नै परिसक्यौँ । कोरोना, डेङ्गी पनि लाग्यो तर स्थानीय पालिकाले केही पनि गरेन । आफ्नै खर्चबाट उपाचार गर्यौँ । कोरोना महामारीमा सबै घर भित्रै हुँदा समेत हामी यहि ठाउँमा फोहोरलाई मिलाउँदै हुन्थौँ । तर हाम्रो आजसम्म स्वास्थ्यबिमामा समेत कसैले पहल गरेको छैन् । एक बर्षदेखि पालिकाले मासिक १३ हजार दिदैँ आएको छ । जसबाट हामीले आफ्नो खर्च चलाउने गर्छै ।” यस्तै, उनीसँगै डम्पिङ साइडमा काम गर्दै आएकी हरिसरा नेपालीले भनिन्, “सबै फोहोर ट्याकरले ल्याएर एकैठाउँमा फालिदिन्छ । हामिले यसलाई सोरेर मिलाउँछौ । यस्तो काम गर्दा हाम्रो स्वास्थ्यमा धेरै समस्या आएको छ । तर हाम्रो समस्या कसैले पनि सुन्दैनन् ।”
यता वीरेन्द्रनगर नगरपालिकाले आर्थिक बर्ष २०७९/०८० को निती तथा कार्यक्रममा समग्र नगरक्षेत्र भित्रको फोहारमैलाको उचित व्यवस्थापनका लागि ल्यान्डफिल साइडमा निर्माण स्विकृत विस्तृत आयोजना प्रतिवेदन अनुसार निमार्ण कार्यलाई निरन्तरता दिने उल्लेख गरेको छ । यस्तै त्यस क्षेत्रमा जाने सडकको स्तरोन्नती गर्न रु ८० लाख बजेट विनियोजन गरेको बजेट वक्तव्यमा उल्लेख गरेको छ ।
यद्यपी पाललिकाले फोहोरको दिर्घकालिन समाधान र यसको व्यवस्थापनको अन्य पक्षहरु कुहिने फोहोरबाट बिभिन्न जैविक तथा कम्पोष्ट मल बनाउने तथा नकुहिने फोहोरको पुनः प्रयोग जस्ता गतिविधीलाई जोड दिनुपर्ने देखिन्छ । बजारबाट निस्कने फोहोर, डम्पिङ साइडको क्षमता लगायतका विषयलाई मध्यनजर गर्दै एकीकृत फोहोर संकलन गर्नुपर्ने साथै प्रदेश राजधानीको बढ्दो जनसंख्या वृद्धिलाई मध्यनजर गर्दै यसको दिर्घकालिन समाधानमा लाग्नुपर्ने देखिन्छ ।
जगत सापकोटा । शुक्रबार, माघ २०, २०७९ मा प्रकाशित