३२ असार, दैलेख । दुल्लु नगरपालिकाले आज आर्थिक बर्ष २०७८/०७९ को बजेट तथा कार्यक्रम माथी सार्वजनिक सुनुवाइ गरेको छ ।
दुल्लु नगरपालिका र यसका विषयगत शाखाबाट भएका काम कारबाहीहरु कत्तिको प्रभावकारी भए? यसबाट नागरिकले पाउने सेवा सुविधाको गुणस्तर कस्तो छ? लगाएतका विषयमा सार्वजनिक सुनुवाइमा छलफल भएको हो ।दुल्लु नगरबासिले पालिकाबाट प्रवाह हुने सेवाका बारेमा विभिन्न प्रश्नहरु राखेका थिए । स्थानीयले कामहरुमा हुने ढिलासुस्ती, कामको गुणस्तर, कर्मचारीको स्वभाव, नगरपालिकाका दीर्घकालीन योजनाहरु, बसपार्क कहिले बन्छ ? नगरभर विध्युतीकरण कहिले हुन्छ ? नगरपालिकाको फोहोरमैला व्यवस्थापन जस्ता विषयमा प्रश्न उठाएका थिए । नगरपालिकामा भएका केही कामहरुमा दिगोपना दिन नसकेको र स्टिमेट अनुसार काम नभएको जस्ता गुनासोहरु पनि गरेका छन् ।
स्थानीयको गुनासोलाई सम्बोधन गर्न दुल्लु नगरपालिकाका नगरप्रमुख, उपप्रमुख, प्रत्येक वडाका वडाअध्यक्ष, विषयगत शाखाका कर्मचारी लगायत जवाफदेही वक्ता रहेका थिए ।
दुल्लु नगरपालिकाका विकास निर्माण र दुल्लु समृद्धिका विकासमा नियमित अनुगमन गर्ने, तत्कालीन दुल्लुका समस्याहरू विद्युत, सडक, खानेपानी, शिक्षा, स्वास्थ, रोजगारी लगायतका क्षेत्रमा आएका गुनासोहरुलाई समाधान गर्ने जवाफदेहीहरुले प्रतिबद्धता जाहेरी गरेका छन् ।
गुनासोका आधारमा ७ वटा प्रतिबद्धता गरेको दुल्लु नगरपालिकाका नगरप्रमुख भरत रिजालले बताएका छन् । यस्तै, सुनुवाइमा उठेका गुनासो तथा समस्याहरुलाई आजैबाट सुधार गर्दै लैजाने तथा बिकास निर्माणका काम पनि गुणस्तरीय बनाउने उनको भनाई छ ।
सार्वजनिक सुनुवाइमा भने पुराना जनप्रतिनिधिको उपस्थिति देखिएको थिएन ।
संवाददाता । शनिबार, असार ३२, २०७९ मा प्रकाशित