दैलेख । दैलेखको दुल्लु नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख भरत रिजालले नगरपालिकाभित्रका गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा दिने पहिलो निर्णय गरेका छन्।
रिजालले शुक्रवार नगरप्रमुखको पदभार ग्रहण गर्दै सुरक्षित प्रसूति सेवा पुर्याउने उद्देश्यले दुल्लुबाट उपचारका लागि बाहिर लैजानुपर्ने महिलालाई निःशुल्क गर्ने निर्णय गरेका हुन्।
रिजालले टिप्पणी आदेश जारी गर्दै नगरपालिकाभित्रका गर्भवती तथा प्रसूति महिला र नवजात शिशुको अकालमा ज्यान जान सक्ने अवस्था रहेकाले सुरक्षित सेवा प्रदान गर्ने सिलसिलामा दुल्लु अस्पतालबाट प्रदान हुने सेवा अपर्याप्त तथा सुरक्षित हुन नसक्ने अवस्थामा दैलेख जिल्ला अस्पताल, प्रदेश अस्पताल सुर्खेत लगायत आवश्यकता अनुसार उच्च तहको सेवा प्राप्त गर्ने अस्पतालमा बिरामीहरूलाई लैजानुपर्ने उल्लेख गरेका छन्।
नगरप्रमुख रिजालले नगरपालिकाको आन्तरिक स्रोतबाट आर्थिक व्यवस्थापन गर्ने गरी उक्त निर्णय गरिएको बताए।
स्थानीय सरकार गाउँका गरिब जनताका लागि भएकाले आफूले पहिलो निर्णय गर्भवतीलाई निःशुल्क सेवा प्रदान गर्ने निर्णय गरेको रिजालको भनाइ छ।
संवाददाता । शुक्रबार, जेठ ०६, २०७९ मा प्रकाशित