सुर्खेत । राप्रपाको प्रवासी नेपाली एकता समाज (पानस) साउदी अरबले वीरेन्द्रनगर सुर्खेतका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा (ज्याकेट) वितरण गरेको छ । वीरेन्द्रनगरका विपन्न साथै जेहेन्दार विद्यार्थीहरुलाई (पानस) साउदी अरबको सहयोगमा कर्णाली प्रदेश सभा सदस्य सन्तोषि शाहीले न्यानो कपडा (ज्याकेट) वितरण गरेकी हुन् ।
प्रदेश माननिय शाहीको पहलमा साउदी अरबमा बसोेबास गर्दै आएका समाजसेवी तथा मनकारी (पानस) साउदी अरबका पुर्वीक्षेत्रिय अध्यक्ष सन्दिप कार्कीको नेतृत्वमा (पानस) साउदी अरबका केन्द्रिय अध्यक्ष कुबेर हुमागाई र (पानस) रियाद साउदी अरब क्षेत्रिय अध्यक्ष अमर सापकोटाको सहयोगमा वीरेन्द्रनगर नगरपालिकाका विभिन्न ३ वटा विद्यालयका विपन्न साथै जेहेन्दार विद्यार्थीहरुलाई ८५ थान न्यानो ज्याकेट वितरण गरिएको हो । ज्याकेट वितरणले विपन्न वर्गका बालबालिकालाई राहत मिल्ने विश्वास गरिएको छ ।
न्यानो कपडा वितरणमा सहयोग गर्ने (पानस) साउदी अरब विभिन्न सामाजिक कार्यमा सक्रिय रहेको छ । सुर्खेतमा न्यानो कपडा वितरणले यहाँका विद्यार्थीहरुलाई राहात पुग्ने र गुणस्तरीय शिक्षामा सहयोग पुग्ने यो संस्थाले विश्वास लिएको छ । नेपालका विभिन्न क्षेत्रमा लामो समयदेखि सहयोग गर्दै आएको यस संस्थाले विभिन्न स्थानमा महत्वपूर्ण काम गर्दै आएको छ ।
न्यानो कपडा वितरण कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कर्णाली प्रदेश माननिय सन्तोषि शाहीले कर्णालीको शैक्षिक स्तरलाई उकास्नका लागि आफ्नो कार्यकालमा महत्वपूर्ण काम गर्ने बताइन् । विद्यार्थीहरु भविष्यका कर्णधार भएको बताउँदै प्रदेश सभा सदस्य शाहीले विद्यार्थीको शैक्षिक स्तरलाई उकास्न र विद्यार्थीको सर्वाङ्गीन विकासका लागि खेल्ने मैदान, विज्ञान प्रयोगशाला देखि पुस्तकालय निर्माण गर्ने प्रतिवद्धता समेत व्यक्त गरेकी छन् । उनले भनिन, “कर्णाली प्रदेश शैक्षिक क्षेत्रमा कमजोर हुदा यहाँको विकासमा महत्वपूर्ण असर परेको छ । कुनैपनि क्षेत्रको विकासका लागि प्रमुख आयाम शिक्षा भएकोले यस प्रदेशको शैक्षिक गुणस्तरमा सुधार गर्न सबै लाग्नुपर्छ । साथै विद्यार्थीको सर्वाङ्गीन विकासका लागि विद्यालयमा सुविधा सम्पन्न प्रयोगशाला, पर्याप्त खेलमैदान र पुस्तकालय हुन जरुरी छ । त्यसैले शैक्षिक क्षेत्रको समग्र सुधारको लागि आफ्नो कार्यकालमा महत्वपूर्ण काम गर्नेछु ।” यस्तै उनले कर्णालीको शैक्षिक गुणस्तर निकै कमजोर भएको र यसको सुधारमा सबै लाग्नुपर्ने बताइन् । उनले न्यानो कपडा वितरणमा सहयोग गरेकोमा (पानस) साउदी अरबका आदरणिय मित्रहरुलाई धन्यवाद समेत व्यक्त गरिन् ।
विद्यालयमा अध्ययनरत बालबालिकाहरुको शैक्षिक प्रगतिका लागि आगामी दिनमा पनि विभिन्न खालको सहयोग गर्ने प्रवासी नेपाली एकता समाज (पानस) साउदी अरबले प्रतिवद्धता जनाएको छ । विद्यालयको शैक्षिक विकास आजको प्रमुख आवश्यकता भएको र यसले समाजलाई महत्वपूर्ण योगदान गर्ने बताउँदै (पानस) साउदी अरबले शैक्षिक सुधार र यससको गुणस्तरका लागि सबै एकजुट हुन पनि आव्हान गरेको छ । आगामी दिनमा शैक्षिक सुधारका विभिन्न काम गर्ने बताउँदै पानसले सम्पूर्ण विद्यार्थीहरुको उज्वल भविष्यको कामना पनि गरेको छ ।
न्यानो ज्याकेट पाएपछि विद्यार्थीहरुले खुसी व्यक्त गरेका छन् । विद्यालय तथा शिक्षकहरुले पनि आफ्ना विद्यार्थीलाई सहयोग गरेकोमा सबैलाई धन्यवाद व्यक्त गर्दै कर्णाली प्रदेशले शैक्षिक विकासमा महत्वपूर्ण काम गर्नेमा आशावादी भएको बताए ।






संवाददाता । बुधबार, माघ २५, २०७९ मा प्रकाशित