सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पहिलो पटक मृगौला प्रत्यारोपण गरेका विरामी बिहिबार घर फर्किएका छन् । गत शनिबार मृगौला प्रत्यारोपण गरेका विरामी ५ दिन पछि घर फर्किएका हुन् ।
कर्णाली प्रदेश अस्पतालमा शनिबार मृगौला सफल प्रत्यारोपण भएपछि काठमाडौं र पोखरामा मात्र हुदै आएको मृगौला प्रत्यारोपण प्रदेश अस्पताल सुर्खेतमा पनि सुरु भएको छ ।
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका विशेषज्ञ डाक्टरहरुको टिमबाट माघ २१ गते कर्णाली प्रदेश अस्पतालमा नवलपरासी जिल्ला बर्दघाट नगरपालिका ४ का ४३ वर्षीया आमाले २२ वर्षीया छोरालाई मिर्गौला दान गरेकी थिइन् । र सोही दिन मृगौलाको सफल प्रत्यारोपण गरिएको थियो ।आज प्रत्यारोपण गरेको ५ दिन पछि अस्पतालले विरामीलाई डिस्चार्ज गरेको छ । मुगौलाको सफल प्रत्यारोपण भएको साथै विरामी र अंगदाता दुबैको स्वास्थ्य अवस्था राम्रो रहेको कर्णाली प्रदेश अस्पतालका निर्देशक डा। डम्बर खड्काले बताए ।
मृगौलाको सफल प्रयारोपण पश्चात आज घर फर्कदै गरेको विरामीले अस्पतालको सेवाबाट खुसी भएको बताए । उनले भने अस्पतालको व्यवस्थापन र स्वास्थ्यकर्मीको व्यवहार निकै मन पर्यो । प्रदेश अस्पतालको सेवा ठुला ठुला अस्पतालले दिने सेवा जस्तै लाग्यो । यस्तै विरामीका बुबाले पनि अस्पतालको सेवाबाट निकै खुसी भएको बताए । देशका धेरै असपतालमा धाएको र यो अस्पतालको अवस्था सरसफाई देख्दा निकै राम्रो लागेको साथै स्वास्थ्यकर्मीको व्यवहार पनि मन परेको उनको भनाई छ । अस्पतालको सरसफाई सबैभन्दा सबल पक्ष लागेको उनले बताए ।
संवाददाता । बिहिबार, माघ २६, २०७९ मा प्रकाशित